Saturday, August 19, 2017  |    

राजदूतहरू मन्त्रीस्तरको नियुक्ति माग्दै

प्रकाशित मिति: 2016/11/22

मंसिर ७, काठमाडौं । सरकारले भारत र चीनका लागि नियुक्त राजदूतलाई मन्त्रीस्तरको हैसियत दिएपछि अन्य मुलुकका राजदूतहरूले पनि समान हैसियत माग गर्दै राजनीतिक र कूटनीतिक लबिङ थालेका छन् । राजदूतहरू दीपकुमार उपाध्याय र लीलामणि पौड्याललाई मन्त्रीस्तरको नियुक्ति दिइएपछि अन्यले पनि लबिङ थालेका हुन् ।

सरकारले मन्त्री भइसकेका व्यक्तिलाई राजदूतमा नियुक्ति गर्दा मन्त्रीस्तरको भन्ने गरे पनि त्यसलाई सार्वजनिक गर्ने गरेको थिएन । पूर्वमन्त्री उपाध्यायले यसअघिको कार्यकालमा पनि मन्त्रीस्तरको नियुक्ति पाएका थिए । उनीसँगै पौड्यालले पनि समान हैसियत माग गरेका थिए । दुवै छिमेकमा नियुक्त हुने राजदूतलाई समानस्तर दिने भनेर सरकारले पौड्याललाई पनि मन्त्रीस्तरको नियुक्त दियो ।

मन्त्री भइसकेका बाहेकलाई सरकारले मन्त्रीस्तरको राजदूत दिएको यो पहिलो पटक हो । पौड्यालको नजिर समाएर अहिले अन्य राजदूतले पनि मन्त्रीस्तरको नियुक्ति पाउनुपर्ने भन्दै लबिङ थालेपछि परराष्ट्र मन्त्रालय समस्यामा परेको हो । २०३७ मा पूर्वअर्थमन्त्री भेखबहादुर थापालाई अमेरिकाको राजदूत नियुक्त गर्दा मन्त्रिपरिषद्ले मन्त्रीस्तरीय राजदूत भनेको थियो । त्यही समय यस्तो चलन सुरु भएको हो । अहिले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले आफूलाई मन्त्रीस्तरको नियुक्ति दिइनुपर्ने भन्दै दबाब दिएको परराष्ट्र अधिकारीले बताए । अमेरिकामा विदेशी राजदूतहरूलाई वरीयतामा निकै माथि (१२ औं) स्थानमा राख्ने गरिएको छ । यही कुरा देखाएर कार्कीले आफूलाई मन्त्रीस्तरको माग गरेका हुन् ।

 

तपाईंको बिचार