Saturday, November 18, 2017

गाविसलाई गाउँपालिका मानेर चुनावमा जाउँ :कोइराला

प्रकाशित मिति: 2016/11/22

मंसिर ७, दाङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमाले र मधेस केन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने बताएका छन । नेपाल प्रेस युनियन दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

कोइरालाले त्यसको लागि काँग्रेस पहिले एक ढिक्का हुनुपर्ने पनि बताए । ‘सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत काँग्रेसमा छ, त्यसको भूमिका काँग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्छ,’ उनले भने ।

उनले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको बताए।
कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व. गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए । उनले देशमा परिपक्क नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको बताए ।
कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्ने बताए । कोइरालाले साविकका गाविसलाई गाउँपालिका मानेर निर्वाचनमा जानुपर्ने सुझाव दिए ।

 

तपाईंको बिचार