Wednesday, June 28, 2017  |    

चिकित्सकको रुखोपनले बिरामीको ज्यान जान सक्छ :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/11/22

मंसिर ७, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा विषय महत्वपूर्ण र सम्वेदनशील भएको बताएका छन् ।

काठमाडौं विश्वविद्यालयको २२ औँ दीक्षान्त समारोह अन्तर्गत चिकित्साशास्त्र संकायमा स्नातक र स्नातकोत्तर उपाधि पाउने विद्यार्थीलाई सम्बोधन गर्दै उनले पेशमा आफ्नै विशिष्टता भएको तर्क गर्दै जनताको मनोविज्ञान बुझेर वैज्ञानिक ढंगले उपचार गर्न आग्रह गरे । ‘तपाईंहरुको यो विषय विशिष्ट खालको छ, त्यसैले तपाईंहरुको जिम्मेवारी अरुभन्दा विशेष रुपले सम्वेदनशील र महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरुको एक स्पर्शले बिरामी निको पनि हुन सक्छ, रुखोपन वा लापरबाहीले ज्यानै पनि जान सक्छ ।’
उनले चिकित्साशास्त्र संकायका विद्यार्थीहरुले भौतिक विज्ञान र सूचना प्रविधिले गरेको प्रगतिलाई आत्मसाथ गरेर जनताको सेवा प्रयोग गर्ने विश्वास व्यक्त गरे । दीक्षितहरुलाई देशको असल नागरिकको हैसियतले सेवा गर्ने मोडेल विकास गर्ने विश्वास व्यक्त गरे ।
समारोहमा चिकित्साशास्त्रका विभिन्न विद्यामा स्नातक र स्नातकोत्तर तह पूरा गर्ने १ हजार ३ सय ७७ जना दीक्षित भएका थिए । दीक्षितमध्ये ७ सय २३ महिला, ६ सय ५४ पुरुष छन् । सयजना विदेशी विद्यार्थी पनि समारोहमा दीक्षित भएका छन् ।

 

तपाईंको बिचार