Saturday, April 29, 2017  |    

राष्ट्र बैंक बिराटनगर शाखामा भारु साट्नेको भिड, दैनिक १२ लाख सटही

प्रकाशित मिति: 2016/11/23

मंसिर ८, बिराटनगर ।  पाँच सय र हजार दरका पुरानो नोटबारे भारतीय पक्षबाट कुनै निर्णय नआएपछि विराटनगरस्थित राष्ट्र बैंकको कार्यालयमा भारु सटही गर्न आउने नेपालीको लाम कायमै छ ।

कार्यालयको सटही काउन्टरले सय दरका दैनिक औषत १२ लाख रुपैयाँ भारु नेपालीलाई उपलब्ध गराइरहेको छ । नोटबन्दीअघि उसले दैनिक करिब ८ देखि १० लाख मात्र भारु विनिमय गरिरहेको थियो ।
अहिले हरेक दिन यहाँबाट १० देखि १५ लाख रुपैयाँ भारु नेपालीमाझ वितरण गरिरहेको बैंकका निर्देशक रामु पौडेलले बताए । यो कार्यालयबाहेक राष्ट्र बैंकको जनकपुर, विरगन्ज, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, भद्रपुर, इनरुवा र राजविराज लगायत विभिन्नस्तरका कार्यालयहरुले पनि भारु सटही गर्छ । भारतीय रिजर्भ बैंकसँगको सम्झौताअनुरुप समय समयमा नेपाल राष्ट्र बैंकले सय रुपैयाँ दरको भारु आयात गर्छ ।
 

‘भारतमा नोटबन्दी, नेपालका लागि अवसर’
भारतले गरेको नोटबन्दीलाई नेपाली अर्थतन्त्र उकास्ने अवसरको रुपमा प्रयोग गर्न सकिने बैंकका निर्देशक पौडेलले बताएका छन् । ‘देशको उद्योग, धन्दा र व्यापारलाई उकास्ने उत्कृष्ट मौका हो, यो सधैँ आउँदैन,’ पौडेलले भने । उनले यसका लागि नेपाली उपभोक्ता एवं व्यापारी सचेत हुनुपर्ने औंल्याए ।  
मुख्यतः किनमेलका लागि पारी जानलाई भारी संख्यामा नेपालीहरु सय दरका भारतीय मुद्रा लिन राष्ट्र बैंकको यस कार्यालयमा धाइरहेको सन्दर्भमा पौडेलले उक्त धारणा राखेका हुन् । बैंकमा पूर्वी तराईका जिल्लाहरु विशेषगरी मोरङ, झापा, सुनसरी र सप्तरीका नागरिक भारुका लागि आउँछन् । ‘सबै सचेत भइ दिने हो भन्ने यो हाम्रा लागि विकास गर्ने अवसर हो,’ उनले भने ।
भारतमा ५ सय र हजार दरका पुरानो नोटमा प्रतिबन्ध भएको अवस्थामा अतिआवश्यक कामका लागि मात्र भारु उपलब्ध गराइरहेको उनले स्पष्ट गरे । ‘आफ्नै सीमाभित्र सहजै उपलब्ध सामग्री किन्न धुलो, धुँवा र जामलाई झेल्दै जोगवनी वा पारीका अन्य बजारहरु जानु पर्दैन,’ पौडेलले भने, ‘बरु स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।’
सीमापारिका कतिपय बजारमा नेपाली रुपैयाँ (नेरु) चले पनि व्यापारीले बट्टा काटेर वा सामानको मूल्य बढाएर लिन्छन् । मुद्रा सहटी दलालमार्फत् नेरुको साटो पुनः भारु लिनुपर्ने हुनाले उनीहरुले त्यसो गरेका हुन् । यसले गर्दा नेपालीहरु दोहोरो मारमा पर्छन् ।    
भारतले सय दरको भारुमा समेत प्रतिबन्ध लगाईदिएमा के गर्ने सम्बन्धमा समेत नेपालीले अहिलेदेखि सोच्नु पर्ने उनले बताए । भारतबाट मजदुरी गरेर ल्याएको ५ सय र हजार दरका नोट खर्च गर्न नपाएर नेपालीहरुको विजोग भइरहेको पौडेलले जानकारी दिए ।
वारिभन्दा केही सस्तोमा खाद्यान, कपडा र विद्युतीय सामग्री उपलब्ध पारिको जोगवनी बजारलाई विहारकै सबैभन्दा अव्यवस्थित, प्रदूषित, अराजक एवं नेपाली ठगिने बजार मानिन्छ । ‘प्रतिवस्तु केही रुपैयाँ सस्तो पाउने लोभमा त्यहाँ नेपालीले धेरै नै हैरानी बेहोर्छन’ निर्देशक पौडेलले भने, ‘बरु विकल्पमा स्वदेशभित्रकै शुद्ध उत्पादन रोज्नुपर्छ ।’

दुवै मुलुकलाई असर
बैंकका निर्देशक पौडेलका अनुसार कुनै पनि देशको मौद्रिक व्यवस्थापन तथा मौद्रिकीकरणसम्बन्धी व्यवस्था र नीतिले केन्द्रीय बैंकको मोद्रीक नीतीमा असर पार्छ । कुनै पनि मुद्रा त्यो मुलुकको मौद्रिक नीति र मूल्य स्थिरतासँग अत्यन्तै अन्तर सम्बन्धित हुनाले नेपालमा भारतीय मुद्राको प्रचलन बढ्दै जाँदा स्वाभाविक रुपमा नेपालको मौद्रिक नीतिको प्रभावकारितामा समेत प्रभाव पर्ने गरेको देखिएको छ ।

मौद्रिक नीति प्रभावकारी हुने र नहुने कुरा र मूल्य स्थायित्व कायम गर्ने विषय मुद्राको माग तथा आपूर्तिसँग सम्बन्धित छ । भारतीय मुद्रा नेपालमा खुल्लमखुल्ला प्रचलनमा हुँदा नेपाली मुद्राको प्रचलन र यसमार्फत् हुने कारोबारलाई स्वाभाविक रुपमा न्यूनिकरण गरी प्रत्यक्ष असर पार्ने एवं मौद्रिक नीतिको प्रभावकारिता पनि कम गराई दिने हुन्छ । अर्कोतिर भारतीय मुद्राको नेपालमा अत्याधिक प्रचलनले भारतको मौद्रिक नीतिलाई समेत असर पार्छ ।

पाँच सय र हजार दरका पुराना प्रतिबन्धित नोटको हकमा नेपालीले २५ हजार भारुसम्म साटन पाउने प्रबन्धको सम्बन्धमा राष्ट्र बैंकले भारतीय दूतावास, भारतको रिजर्भ बैंक र भारत सरकारसमक्ष निरन्तर पहल गरिरहेको छ । हालसम्म भारतको तर्फबाट यस सम्बन्धमा कुनै निर्णय प्राप्त भइसकेको छैन । तर, कुराकानी सकारात्मक दिशामा अगाडि बढेको जानकारी केन्द्रीय कार्यालयको तर्फबाट प्राप्त भएको बैंकका निर्देशक पौडेलले बताए ।  

 

 


 

 

तपाईंको बिचार