Monday, July 24, 2017  |    

नेपालकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ गौतम बुद्ध,पाँच सय विघा जग्गा अधिग्रहण हुँदै

प्रकाशित मिति: 2016/11/25
१०, मंसिर, काठमाडौं । डेढ वर्षभित्र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यलार्इ भेट्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेको छ।सुरुवातमा क्षेत्रीय विमानस्थलको अवधारणा अनुसार अघि बढेको यो विमानस्थललार्इ अन्तर्राष्ट्रिय विमानस्थलकै रुपमा अघि बढाउँदै कामलार्इ तीब्रता दिइएको छ। विमानस्थलका लागि आवश्यक थप पाँच सय विघा जग्गा अधिग्रहणका लागि विहिवार सूचना प्रकासित गरेको छ। विस्तारित गौतमबुद्ध विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभन्दा डेढ गुणा ठूलो हुनेछ। सुरुवातमा २ सय ८७ विघा जग्गामा विमानस्थल निर्माण गरिएको थियो।तर यो विमानस्थललार्इ अन्तर्राष्ट्रिय स्तरमै रुपान्तरण गर्ने योजनासहित थप पाँच सय विघा जग्गा किन्ने निर्णय गरिएको हो। अब यो विमानस्थलको क्षेत्रफल ७ सय ८७ विघा हुनेछ।विमानस्थलको क्षमता बृद्धि गर्नका लागि थप जग्गा लिनुपरेको आयोजना प्रमुख ओम शर्माले बताए। उनका अनुसार अधिग्रहण हुने जग्गा व्यक्तिको ४ सय २८ विघा र सरकारी जग्गा ७२ विघा छ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ३५ दिने सूचना निकाल्दै विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने जनाएको छ। जग्गा अधिग्रहण हुँदा पाँचसय विगाहा क्षेत्रफलमा चारसय ७० वटा घर टहरा समेत पर्ने भएका छन्। आयोजनाले एक बर्षभित्र घरटहरा तथा बाली उठाउन आग्रह गरेको छ।थप गर्ने जग्गामा पक्की वाटो पोखरी तथा गाग्राखोलाको केही भाग पर्नेछ। थप जग्गा प्राप्तिकालागि मुआब्जाका बारेमा अध्ययन भइसकेको र केही दिनमा टुङ्गो लाग्ने शर्माले बताए।

तपाईंको बिचार