Wednesday, September 20, 2017

तिवारी अनशनको आज पन्ध्रौं दिन, समर्थनमा विद्यार्थीद्वारा प्रदर्शन

प्रकाशित मिति: 2016/12/07

मंसिर २२, सप्तरी । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुविधा सुधारको माग गर्दे पछिल्लो १५ दिनयता अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीको आन्दोलनप्रति ऐक्यबद्वता जनाउँदै बुधबार दोस्रो दिन पनि विद्यार्थीहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
राजविराजस्थित विभिन्न क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । यसअघि मंगलबार पनि विद्यार्थीहरुले तिवारीको माग पूरा गर्नुपर्ने भन्दै राजविराजमा प्रदर्शन गरेका थिए । १५ दिनदेखि सार्वजनिक महत्वका विषयमा तिवारीले अनशन गरे पनि राज्य गम्भीर हुन नसकेको भन्दै स्थानीय विद्यार्थीहरुले स्वतःस्फूर्तरुपमा सदरमुकाममा प्रदर्शन गरेका हुन् ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विद्यार्थीहरुको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । उनीहरुले तिवारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । अञ्चल अस्पतालको अवस्था सुधारका लागि भन्दै तिवारी गत मंसिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनशनमा छन् । तिवारीले स्वास्थ्यमन्त्री नआएसम्म भोक हड्ताल नत्याग्ने बताएका छन् । उनले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको बेथिति छानविन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउनुपर्ने,आफूले उठाएका अन्य माग पूरा गर्नुपर्ने र त्यो जानकारीसहित स्वास्थ्यमन्त्री गगन थापा आउनुपर्ने अडान राखेका छन् ।
तिवारीले अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूलगेटको निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधिन भवनहरूको निर्माण कार्य अविलम्ब पूरा हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधिहरूको सूची अस्पताल परिसरमा टाँगिनुपर्ने माग राखेका छन् ।
यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सो को खर्च विवरण उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको तालिकाअनुसार आर्थिक वर्ष २०७२÷०७३ को विकास र साधारण शीर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनुपर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानबिन हुनुपर्ने, सुत्केरी र २८ दिनसम्मको शिशुको निःशुल्क उपचार हुनुपर्ने माग पनि अनशनरत तिवारीको रहेको छ ।
यसैबीच, अस्पतालका सरसफाई कर्मचारीहरुले पनि छुट्टै आन्दोलन शुरु गरेका छन् । उनीहरुले ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्नेसहितका पाँच बुँदे माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।

 

तपाईंको बिचार