Friday, August 18, 2017  |    

दक्षिण एसियाको पछौटेपनमा औपनिवेशिकता मुख्य कारण :झलनाथ खनाल

प्रकाशित मिति: 2016/12/11

मंसिर २६, पाकिस्तान । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एक कारण भएको बताएका छन् ।
पाकिस्तानको इस्लामावादमा जारी शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमा यहाँको औपनिवेशिकता पनि रहेको र अहिले उत्तर र दक्षिण तथा पूर्व र पश्चिमका बीचमा बढिरहेको असमानता माझ लाखौँ युवा रोजगारीका लागि विदेश जाने गरेको बताए । उनले चीन, दक्षिण पूर्वी एसियालगायत दक्षिण एसियामा समेत देखा परेको आर्थिक वृद्धिप्रति सन्तोष व्यक्त गर्दै थप सहकार्यबाट एसियामा विकास र समृद्धि हासिल गर्न सकिने र यसले युवामा रहेको बेरोजगारी समस्या हल हुने उल्लेख गरे ।

’यो शताब्दी युवाको भएकाले राजनीतिमा उनीहरु नै समाज रुपान्तरण, आर्थिक विकास र प्रजातान्त्रीकरणका मूलवाहक हुन् । आज युवामा शिक्षा, सीप विकास र तालिमबाट उनीहरुको मानसिकतामा परिवर्तन गरी अघि बढाउनु अत्यावश्यक छ’ खनालले भने ।
खनालले पाकिस्तानका पूर्वप्रधानमन्त्री यूसुफ राजा गिलानीसहित विभिन्न देशका पूर्व विशिष्ट व्यक्तिसँग पनि  भेटघाट गरेको उनका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए । नेता खनाल यही मङ्सिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

तपाईंको बिचार