Sunday, March 26, 2017  |    

लोडसेडिङ अन्त्य अभियानमा बाधक तत्वलाई कारबाही :शर्मा उर्जामन्त्री

प्रकाशित मिति: 2016/12/13

मंसिर २८, विराटनगर । ऊर्जामन्त्री जनार्दन शर्माले देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा बाधा पुर्याउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उज्यालो अभियानविरुद्ध जाने कसैलाई पनि बाँकी नराख्ने उनले बताए ।
मंगलबार प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले समग्र मुलुकको विकासको पूर्वाधार विद्युत भएकाले देशलाई उज्यालो बनाउने आफ्नो अभियान सफल बनाएरै छाड्ने प्रतिवद्धता समेत जनाए ।
विद्युत प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन आफू लागिपरेको जानकारी दिए ।


पत्रकार सम्मेलनमा मन्त्री शर्माले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना बोर्ड सदस्यहरुलाई आफूले कुनै प्रतिशोध राखेर कार्वाही नगरेको स्पष्ट पारे । ‘उनीहरुलाई अध्यारोविरुद्ध उज्यालो बनाउने अभियानलाई गति दिन भनेको मात्र थिएँ तर त्यसका विपरित गएर गर्ने काम भएको छ । यसबारेमा लिखित स्पष्टिकरण मागेका छौं अन्य काम भएको छैन,’ मन्त्री शर्माले भने ।
प्राधिकरणले विद्युत उत्पादन कम्पनी मार्फत अपर अरुण निर्माण गर्ने प्रस्ताव अघि सारेपछि प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले त्यसको विरोध गरेका थिए । उनीहरुले बोर्ड अध्यक्ष विनाको बैठक राखी ‘नक्कली माइन्युट’ तयार गरी सञ्चार माध्यमहरुलाई वितरण गरेको कारण देखाउँदै उर्जा मन्त्रालयले उनीहरुमाथि स्पष्टीकरण सोधेको छ ।

जनतालाई शेयर दिने कार्यबिधी
जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने उनले जानकारी दिए ।

‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्र्तगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति छ ।
पत्रकार सम्मेलनमा मन्त्री शर्माले विद्युत चुहावट गर्नेमा ठूला घरानाको उद्योगीहरुको संलग्नता पाइएको समेत जानकारी दिए । उनीहरुलाई कारबाहीको दायरामा ल्याईने मन्त्री शर्माले जानकारी दिए ।

 

तपाईंको बिचार