Thursday, March 23, 2017  |    

राप्रपाको एकता भेला पुरानै संरचना बमोजिम मंसिर ३० गते पोखरामा हुने

प्रकाशित मिति: 2016/12/13

मंसिर २८, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुरानै संरचना अनुसार एकता भेला गर्ने भएको छ ।

यसअघि प्रदेशस्तरीय एकता भेला गर्ने निर्णय गरेको राप्रपाले आकस्मिक रुपमा निर्णय गर्दै पुरानै संरचना अनुसार एकता भेला गर्न लागेको हो ।
केन्द्रले दिएको निर्देशन अनुसार आफूहरुले पुरानो संरचना अनुसार पश्चिमाञ्चल स्तरीय एकता भेला गर्न लागेको राप्रपाका केन्द्रीय सदस्य तथा भेला संयोजक कुलप्रसाद गुरुङ ‘कुलु’ले बताए ।
भेलाका लागि भनेर पर्चा पम्प्लेट पहिल्यै तयार भए पनि सोमबार केन्द्रबाट पुरानै संरचनाअनुसार एकता भेला गर्न निर्देशन आएपछि आफूहरु त्यसको तयारीमा जुटेको उनले बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा पनि ‘प्रदेश स्तरीय एकता भेला’ लेखिएकोलाई केरेर ‘पश्चिमाञ्चल स्तरीय एकता भेला’ लेखिएको छ ।
पुरानै संरचना अनुसार एकता भेला गर्ने केन्द्रको निर्णय अनुसार राप्रपाको क्षेत्रीय स्तरीय एकता भेला पश्चिमाञ्चलबाट शुरु हुने भएको छ । संयोजक गुरुङका अनुसार पश्चिमाञ्चल एकता भेला यही मंसिर ३० गते पोखराको चिप्लेढुंगामा हुनेछ । बिहान ११ बजे हुने कार्यक्रमको पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय सदस्य कुलमान गुरुङ ‘कुलु’ले संघीयता घाँडो भएको बताए । उनले नेपालमा संघीयता लागू हुन नसक्ने ठोकुवा गर्दै यसले राष्ट्रियता नै समाप्त पार्ने दाबी गरे ।
राप्रपा एकात्मक शासन प्रणालीको पक्षधर भएको बताउँदै संघीयता बिरुद्ध राप्रपा सधैं उभिने उनले उदघोष गरे । एकता हुनुअघि पनि राप्रपामै रहेका उनले राजसंस्था आवश्यक रहेको बताए ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य कमलमान गुरुङले ठूला दलका शीर्ष नेताहरुले राष्ट्रियता दाउमा राखेको आरोप लगाए । उनले राष्ट्रियताको लागि राप्रपाले लड्ने उदघोष गरे ।

 

तपाईंको बिचार