Wednesday, April 26, 2017  |    

नेपालमा भूकम्प पूर्वसूचना केन्द्र खुल्यो

प्रकाशित मिति: 2016/12/14

काठमाडौँ, २९ मंसिर । भूकम्प कहिले आउँछ भनेर पत्ता लगाउने कुनै प्रविधि छैन । तर, भूकम्प आउनुभन्दा केही सेकेण्डअघि त्यसका तरंगलाई मापन गरेर पूर्वसूचना दिने प्रविधि भने तयार छ । र, यसलाई अब नेपालमा पनि प्रयोग गर्न थालिएको छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलोपटक भूकम्पको पूर्वसूचना दिने यन्त्र जडान थालेको छ । यसका लागि नाष्टले चीनको सहयोग लिएको छ । नाष्टले काठमाडौं वरपरका क्षेत्रमा पाइलटिङ गरिरहेको छ ।

यो प्रविधिले भूकम्पका प्रारम्भिक तरंगलाई विश्लेषण गर्छ र ५ रेक्टरभन्दा माथिका भूकम्पबारे केही सेकेण्डअघि नै सूचना प्रवाह गर्छ । त्यसका कारण सावधान रहन र सुरक्षित स्थानसम्म पुगेर बस्न सहयोग पुग्छ ।

यो प्रविधिको मुख्य कन्ट्रोल रुमका रुपमा नाष्टको केन्द्रीय कार्यालयभित्रै ‘नेपाल भूकम्प पूर्वचेतावनी केन्द्र’ स्थापना गरिएको छ । जहाँ कम्प्युटर र इन्टरनेटको माध्यमबाट भूकम्पको पूर्वसूचना प्राप्त हुन्छ । तर, पूर्वसूचना दिने यन्त्र धेरै ठाउँमा जोड्न नसकिएकाले देशभरको सूचना यो सर्भरसम्म आइपुग्दैन ।

इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा खुमलटारस्थित कार्यालयमा भूकम्पको पूर्वसूचना संकलन गर्ने र प्राप्त गर्ने ‘सर्भर’ तथा ‘रिसिभर’ राखिएको छ । काठमाडौं वरपरका जिल्लाका ४० स्थानमा भूकम्पको तरंगलाई मापन गरेर सर्भरमा ल्याउने गरी सेन्सरहरु जडान गरिएको नाष्टका टेक्निकल अफिसर रोशन पाण्डेले बताए ।

‘यो नयाँ प्रविधि होइन । तर, नेपालका लागि यो बिल्कुल नयाँ पनि हो । यसले भूकम्प आउँदैछ है भनेर पूर्वसूचना केही सेकेण्डअघि मात्रै दिन्छ,’ अफिसर पाण्डेले भने, ‘मानवीय क्षति कम गर्न यो प्रभावकारी हुन सक्छ ।’

तपाईंको बिचार