Wednesday, March 29, 2017  |    

पुरानै संरचनाको चुनाव गरे बहिस्कार गर्ने माओबादी नेता किराँतीको भनाई

प्रकाशित मिति: 2016/12/15

मंसिर ३०, विराटनगर । नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरे बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरु पुरानै स्थानीय तहको चुनाव गर्न सहमति नजिक पुगेका बेला किराँतीले षडयन्त्रको बाहक नबन्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी माओवादीको एक नम्बर प्रदेश इन्चार्ज किरातीले भने, ‘कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु राजतन्त्रकालीन पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न उद्दत छन् । यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन ।’

यदि पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरिए माओवादी केन्द्र १ नम्वर प्रदेशका नेता कार्यकर्ता निर्वाचनमा भाग नलिने उनले बताए । ‘जनताको रगत र पसिनावाट प्राप्त गणतन्त्र लगायत उपलव्धी गुमाउने षड्यन्त्र अनुसार पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउने खोजिएको हो । यसलाई स्वीकार गर्न सकिन्न,’ उनले भने ।

पुरानै संरचनामा निर्वाचनमा गए २००७ सालको प्रजातन्त्रलाई २०१७ सालमा खोसेजस्तै हुने दावी समेत गरे । उनले मधेसी मोर्चा समेत पुरानै संरचनाको चुनावमा लचक हुनु आश्चर्यजनक रहेको उनले बताए ।

माओवादी नेता किराँतीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने षडयन्त्रको बाहक नबन्न खबरदारी गरे । उनले भने, ‘आम कार्यकर्ता र जनताको कुरा नसुन्ने हो भने हामी विद्रोह गर्न पनि तयार हुनेछौं ।’

 

तपाईंको बिचार