Monday, June 26, 2017  |    

एमालेले परिवर्तनकारी एजेण्डालाई मास्न खोज्यो :यादब

प्रकाशित मिति: 2016/12/16

पुस १, कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । एमालेको राष्ट्रियता पञ्चायतकालीन भएको उनको टिप्पणी थियो ।
कपिलबस्तुको पकडीमा शुक्रबार आयोजित आमसभामा फोरम नेपालका अध्यक्ष यादवले भने, ‘संविधान संशोधन विरुद्ध सडकमा जनता उचालेर एमाले संघीयता र गणतन्त्रलाई मास्ने षड्यन्त्रमा लागेको छ । एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव विथोल्ने र परिवर्तन विरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी छ ।’
एमालेकै गैरजिम्मेबार गतिविधि र अभिव्यक्तिले गर्दा मुलुकमा विखण्डनको बीजारोपण भएको यादवको आरोप छ । उनले भने, ‘एमालेको प्रतिगामी आन्दोलन मधेसी र आदिवासी जनजातिविरुद्ध षड्यन्त्र मात्र होइन, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई धरापमा पार्ने कार्य गरेको छ ।’
उनले संविधान संशोधन नभए कुनै पनि चुनाव हुन नदिने चेतावनी दिए । ‘संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन हुन सक्दैन’ यादवले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएको माग अनुसार संशोधन नगरी त्यसलाई थाती राखेर कसैले पनि निर्वाचनको दिवास्वप्न नदेखे हुन्छ ।’

उनले अघि भने ‘संविधान संशोधन गरी राष्ट्रीय समस्याहरूको समाधान गरेर मात्र कुनै पनि निर्वाचन हुनु पर्छ । अन्यथा मुलुक आन्तरिक गृहयुद्धमा फसे विखण्डनकारी र प्रतिगामी तत्वहरुलाई फाइदा पुग्नेगरी प्राप्त उपलब्धि गुम्न सक्छ ।’
साथै उनले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयकले उत्पीडित समुदायको मुद्दाहरुलाई सम्बोधन नगर्ने बताए ।

 

तपाईंको बिचार