Thursday, June 29, 2017  |    

संसद अवरोध हटाउन भन्दै सभामुखद्धारा शिर्ष नेताको बैठक आह्वान

प्रकाशित मिति: 2016/12/18

पुस ३, काठमाडौं । संसदको गतिरोध अन्त्यको प्रयासमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी छन् । 

सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरिएको हो ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।
‘संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर भोलि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको हो,’ सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आआफ्नै अडानका कारण उनको प्रयास सफल हुन सकेको छैन ।
सोमबारको संसद बैठकमा संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्ने सरकारको तयारी छ । यसअघि मंसिर ३० गतेको बैठकमै संशोधन प्रस्ताव कार्यसूचीमा राख्ने तयारी थियो । तर सहमतिको प्रयास गर्न भन्दै पाँच दिनसम्म बैठक स्थगित गरियो । यद्यपी यसबीचमा दलहरुबीच छलफल भने हुन सकेन ।
यस्तो अवस्थामा सभामुखले आह्वान गरेको शीर्ष बैठकबाट गतिरोध अन्त्य कसरी हुन्छ भन्नेमा भोलिको बैठक महत्वपूर्ण हुनेछ ।

तपाईंको बिचार