Thursday, March 23, 2017  |    

प्रधानमन्त्रीले कसको माग बोकेर भरिया बन्दैछन भन्ने थाहा भएन :ईश्वर पोखरेल

प्रकाशित मिति: 2016/12/18

पुस ३, पोखरा । प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन बाहेकका कार्यसूची आए अवरुद्ध संसद खुलाउन तयार रहेको बताएको छ ।

संशोधन प्रस्ताव फिर्ता लिएर सहमतीय राजनीतिको शुरुवात गर्नुपर्नेमा एमालेले जोड दिएको छ ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएको जिकीर गर्दै प्रमुख विपक्षी एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
एमाले महासचिव ईश्वर पोख्रेलले संविधान संशोधन बाहेकका विषयमा छलफल गर्ने कार्यसूची सभामुखले ल्याए संसद अवरुद्ध नगर्ने बताए ।

प्रेस चौतारी कास्कीले आइतबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘अबरुद्ध संसद खोल्न हामी तयार छौं, तर सभामुखले असंवैधानिक रुपमा आएको संविधान संशोधन प्रस्ताव बाहेकका विषयमा मात्र छलफल गर्ने कार्यसूची ल्याउनु र्पयो ।’
संसद खोल्ने विषयमा कार्य परामर्श समितिको बैठकले सहमति गर्नुपर्ने उनको भनाई थियो ।

एमाले महासचिव पोखरेलले संशोधन प्रस्ताव असंवैधानिक भएकाले संसद अबरुद्ध गर्नुपरेको जिकिर गरे । संविधानमा सीमांकन संशोधन गर्ने प्रावधान नै नभएको दाबी गर्दै उनले संशोधन प्रस्तावमा छलफल गर्ने प्रयास भएमा भने एमालेले संसद चल्नै नदिने बताए ।

संविधानको सर्व्स्विकार्यता खोज्नु पाखण्डीपन भएको टिप्पणी गर्दै उनले भने, ‘संविधानको सर्वस्विकार्यता खोज्नु पाखण्डीपन मात्र हो, यो विश्वमा कहिँ पनि छैन, न यो भूत हो न त भविष्य नै, यो हुनै सक्दैन ।’
महासचिव पोखरेलले देशमा बहुराष्ट्रियता मान्नेहरुले मधेस र पहाड छुट्याउन संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै यो नेपाली जनताको माग हुनै नसक्ने बताए । उनले पहाड र मधेस छुट्याएर २ नम्बर प्रदेश बनाउनु पनि गलत निर्णय भएको बताउँदै त्यो अपरिपक्वता र कसैको चित्त बुझाउन मात्र गरिएकाले अब त्यस्तो निर्णय गर्न नहुने बताए ।
संशोधन प्रस्ताव फिर्ता गर्न सरकारलाई अप्ठ्यारो छ भने स्थगन गरेर अगाडि बढ्न उनले सुझाव दिए । ‘सरकारको नाक जोगाउन संशोधन प्रस्ताव फिर्ता नगरी स्थगन गर्न सकिन्छ,’ उनले भने, ‘संविधान संशोधन कसको माग हो ? र प्रधानमन्त्रीले कसको माग बोकेर भरिया बन्नु भएको छ, यो एमालेले बुझेको छैन ।’

प्रमुख ३ पार्टी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिल्नुको विकल्प नभएको बताउँदै उनले यसका लागि प्रयास भइरहेको बताए ।
पत्रकार भेटघाटमा एमाले सचिव योगेश भट्टराईले कांग्रेसलाई आफ्नो इतिहास सम्झिन सुझाव दिए । हिजो विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले देश र राष्ट्रियताको पक्षमा उभिएको कांग्रेस संविधान संशोधनमा सहमत भएर स्खलित भएको भन्दै उनले कांग्रेसको इतिहास सम्झिन आग्रह गरेका हुन् ।
राष्ट्रहित र राष्ट्रियताको प्रतिकुल ल्याइएको संशोधन प्रस्तावमा कांग्रेस र प्रधानमन्त्री किन र कसका लागि सहमत भयो भन्ने प्रश्न गर्दै उनले यो प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।

तपाईंको बिचार