Friday, November 24, 2017

जनजाति महासंघको महाधिवेशनमा दलीय हस्तक्षेप, सत्तारुढको गठबन्धनले एमाले अप्ठेरोमा

प्रकाशित मिति: 2016/12/20

पुस ५, चितवन । चितवनमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा चर्को राजनीतिक हस्तक्षेप देखिएको छ । 

महासंघमा विभिन्न पार्टीप्रति आस्थावान् व्यक्तिहरु रहेपनि नेतृत्व चयनमा दलीय हस्तक्षेप हुन नदिने जनजाति अगुवाहरुको प्रतिबद्धताविपरीत महासंघको महाधिवेशनमा राजनीतिक चलखेल भएको हो । महासंघका संघीय परिषद् सदस्य एवं तारपुरिया कल्याण परिषद् अध्यक्ष नित्यानन्द ताजपुरियाले राजनीति नछिराउने भन्दा पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘मुद्दाका लागि सहमति गर्नुपर्ने भएकाले सत्तारुढ दलहरुको गठबन्धन बनाएका हौं ।’ उनका अनुसार सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षीको आ–आफ्नै गठनबन्धन बनेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेलाई जनजाति महासंघको नेतृत्वबाट पाखा लगाउने हिसाबले सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरमसहितको गठबन्धन बनेको छ भने विपक्षमा एमाले समर्थकसहित केही पार्टी छन् । महासंघका पूर्वसचिव समेत रहेका ताजपुरियाका अनुसार सत्तारुढ तर्फको गठबन्धनको झन्डै ३०–४० मत पुग्ने देखिएको छ भने एमाले समर्थकका उम्मेदवारले बढीमा बीस मत पाउने छन् ।  

सत्तारुढ दलहरुले आफ्नो तर्फबाट मुख्य पदमा भागबण्डाको आधारमा उम्मेदवार उठाउने निर्णय गरिसकेको ताजपुरियाले जानकारी दिए । कांग्रेसका जगत बराम अध्यक्ष, संघीय समाजवादी फोरमका नित्यानन्द ताजपुरिया महासचिव र माओवादी केन्द्रका मुकुन्द पहरीलाई कोषाध्यक्षको उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरिसकेको छ । समाजवादीका ताजपुरिया यसअघि अध्यक्षका लागि लड्ने तयारीमा थिए ।  

मंगलबार रातिसम्ममा नयाँ नेतृत्व चयन गरिसक्ने महासंघको तयारी छ । अहिले दिउँसो बन्द सत्र फेरि सुरु हुनेछ । बिहानको बन्द सत्रबाट विधान संशोधन प्रस्ताव पारित गरिएको थियो । संशोधित विधानअनुसार महासंघको यसअघि १३ सदस्यीय सचिवालय रहेकोमा अब १९ देखि २१ जनासम्मको हुनेछ । दिउँसोको बन्दसत्रमा महाधिवेशनबाट जारी हुने चितवन घोषणा पत्रको टुंगो र जिल्ला समन्वय परिषद्लाई कसरी केन्द्रमा समेट्ने भन्ने विषयको निचोड निकालिने ताजपुरियाले बताए ।
अध्यक्षका प्रतिस्पर्धीको रुपमा देखिएका सूर्यबहादुर भूजेलले आफूलाई पार्टीको भन्दा जातीय संस्थाको समर्थन रहेकोले जित सुनिश्चित रहेको दाबी गरे । उनले सम्भवतः आज (मंगलबार) रातिसम्ममा नजिता आउने भन्दै आफूलाई कामको मूल्यांकन गरेर भोट दिनेमा ढुक्क रहेको बताए । उनी एमालेनिकटका हुन् । सत्तारुढ दलहरुको तर्फबाट गठबन्धन बनेकोमा त्यसलाई जातीय संस्थाहरुले नस्वीकार्ने भन्दै उनले आफूलाई कुनै दलको समर्थन नचाहेको जिकिर पनि गरे ।

चितवन घोषणा पत्र र जिल्ला समन्वय परिषद्को प्रतिनिधित्वको विषयलाई निष्कर्षमा र्पुयाएपछि मंगलबार नै निर्वाचनमण्डल गठन गरेर मतदानमा जाने तयारी छ । सूचिकृत ५९ जातीय संस्थामध्ये ५६ जातिका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । जुन उम्मेदवारले २९ भोट कटाउन सक्छ त्यो नै महासंघको अध्यक्षमा निर्वाचित हुने व्यवस्था छ ।
तीनदिनका लागि तोकिएको महाधिवेशन दलीय भागबण्डा र विवादका कारणले लम्बिएको छ । पुस २ गते चितवनमा सुरु भएको महासंघको महाधिवेशन सोमबार सकाउने लक्ष्य थियो ।

 

 

तपाईंको बिचार