Sunday, March 26, 2017  |    

तीनै तहको चुनाव एकैचोटि गरौं :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/12/23

पुष ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको दबाव परेमा तीनै तहको निर्वाचन एकैचोटि गर्न सकिने बताएका छन् । तर, सरकार स्थानीय तहको निर्वाचन बैशाखमै सम्पन्न गर्ने तयारीमा लागेको उनले बताए ।

सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट भाग्न खोजेमा देश गम्भीर संकटमा पर्ने खतरा औंल्याए ।
स्थानीय निर्वाचन आउने बैशाखसम्म सम्पन्न गर्ने सम्भावना अहिले पनि प्रबल रहेको भन्दै उनले भने, ‘प्रदेश र केन्द्रको निर्वाचन एकैचोटी मंसिरमा गर्न पनि सकिन्छ । यदि हामीलाई समयको दबाव र्पयो भने तीनवटै निर्वाचन एकैचोटि पनि गर्न सकिन्छ । तर, निर्वाचन एउटा गर्ने र अर्को चाहिँ नगर्ने भन्न थालियो भने संविधानको मूल मर्म र भावनाबाट बिचलन हुन्छ ।’

संविधानको स्पिरिट अनुसार निर्वाचनको तयारीमा सरकार लागेको प्रधानमन्त्री प्रचण्डले बताए । निर्वाचनको वातावरण बनाउनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको उनको भनाइ छ ।
हाल देखिएका विवाद र बहसलाई छिटै टुंगो लगाएर निर्वाचनमा जान सरकार प्रतिवद्ध रहेको उनले बताए ।
आफूले सरकारको नेतृत्व सम्हालेपछि मधेस, पहाड र हिमाललाई एकतावद्ध गर्न संविधान संशोधन प्रस्ताव अघि सारेको प्रचण्डले दाबी गरे । नेपालको भूस्थिति र विविधतालाई सम्बोधन गर्न पनि संविधान संशोधन गर्नेपर्नैै अवस्था आएको उनले तर्क गरे ।
प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा साथ दिन सबैलाई आग्रह पनि गरेका छन् ।

तपाईंको बिचार