Wednesday, April 26, 2017  |    

आफुहरु छिट्टै मिल्ने प्रचण्ड र बाबुरामको उद्घोष

प्रकाशित मिति: 2016/12/26

पुष ११, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई एक हुने संकेत गरेका छन ।

माओवादीबाट अलग भएको १६ महिनापछि सोमबार प्रचण्ड र बाबुराम दुबै नेताहरु पहिलोपटक एउटै मञ्चमा देखिए । सँगै फेरि एक हुने संकेत पनि दुबै नेताले गरे ।
सोमबार एउटा सार्वजनिक कार्यक्रम मार्फत फेरि एकै ठाउँमा आउने संकेत गरेका हुन् । उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको भन्दै हालसम्मका उपलब्धी रक्षाका लागि प्रचण्ड र बाबुराम मिल्नुको विकल्प नभएको बताए ।

बाबुराम र प्रचण्डलाई एउटै मञ्चमा उभ्याउने संयोग माओवादीका स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी’को सार्बजनिकीकरण कार्यक्रममा जुरेको हो ।
प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा प्रचण्ड र बाबुराम दुबैले आफूहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए ।
कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘संविधान जारी भएलगत्तै बाबुरामजी अलग हुन हतार गर्नुभयो, अहिले संविधान कार्यान्वयनको चुनौति छ । अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।’

कार्यक्रममा बाबुराम भट्टराईले हालको उपलब्धी गुम्न नदिन प्रचण्डसँग मिल्नुको विकल्प नभएको बताए । प्रचण्डसँग व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको, तर अलग हुन परिस्थितिले बाध्य पारेको बताए ।

 

तपाईंको बिचार