Wednesday, May 24, 2017  |    

फरार सूचिमा रहेका सुधीर बस्नेत पक्राउ

प्रकाशित मिति: 2016/12/28

पुस १३, काठमाडौं । ओरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता गर्न नसकेपछि ठगी मुद्दामा प्रहरीको फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई काठमाडौंको धापासीबाट प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र महाराजगन्ज प्रहरी वृत्तबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बस्नेतलाई मंगलबार राति ११ बजे धापासीबाट पक्राउ गरेको महाराजगन्ज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए।   डिएसपी पुरीका अनुसार पक्राउ परेका बस्नेतलाई महाराजगञ्ज वृत्तमा राखिएको छ।

टोखा नगरपालिकास्थित आफ्नै घरमा बसिरहेका बस्नेत प्रहरी आएको थाहा पाएपपछि भाग्न खोजेका थिए। भाग्ने क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा बस्नेत आफै लडेर  देब्रे हातमा चोट लागेको छ।

सामान्य उपचारपछि उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा हाजिर गराएको डिएसपी पुरीले बताए। ठगी मुद्दामा लामो समयदेखि भारतमा लुकेर बस्दै आएका र मंगलबार मात्रै काठमाडौं आएका बस्नेत पक्राउ परेका हुन्।

बस्नेतले विभिन्न १४ वटा बैंकबाट १ अर्ब ६० करोड रूपैयाँ र सहकारी, व्यक्ति र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ ऋण चुक्ता बाँकी रहेको अनुमान गरिएको छ।

तपाईंको बिचार