Monday, December 11, 2017

सहमतिको प्रयास जारी राख्ने माओवादी केन्द्रको निष्कर्ष

प्रकाशित मिति: 2016/12/28

पुष १३, काठमाण्डौ । सत्तारुढ माओवादी केन्द्रले संविधान संशोधन र स्थानीय निर्वाचनको विषयमा अझै सहमतिको प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा दलीय सहमति जुटाउन छलफल जारी राख्ने सहमति भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । तर, सहमति सम्भव नभए संसदीय प्रक्रियाको माध्यमबाट संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय गरिने प्रवक्ता भुसालले बताइन् ।
माओवादी केन्द्र केन्द्रीय कार्यालय बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको थियो ।

मधेस केन्द्रित दलहरुको माग पूरा गर्न भन्दै सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोधमा एमालेसहितका केही दलले केही जिल्लामा आन्दोलन गरिरहेका छन् । ती दलहरुले संशोधन विधेयक फिर्ता वा स्थगन गर्नुपर्ने भन्दै संसदमा पनि अवरोध जारी राखेका छन् । तर सत्तारुढ दलहरुले विधेयक कुनै हालतमा फिर्ता नहुने बरु संसदीय प्रक्रियाबाट टुंग्याउनुपर्नेमा जोड दिँदै आएका छन् । राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै दलहरुले निरन्तर द्विपक्षीय, त्रिपक्षीय बैठक आयोजना गर्दै आएका छन् ।
मंगलबार सत्तारुढ र मधेसी मोर्चाबीच छलफल भयो भने सोमबार सभामुख ओनसरी घर्तीमगरको पहलमा सर्वदलीय बैठक बसेको थियो । यद्यपि ती बैठकहरु विनानिष्कर्ष टुंगिए । बुधबार पनि सिंहदरबारमा तीन दलको बैठक बोलाइएको छ ।   

 

तपाईंको बिचार