Monday, April 24, 2017  |    

निकासका लागि सबै दल एक कदम पछाडि हटौं :एमाले

प्रकाशित मिति: 2017/01/03

पुष १९, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संविधान संशोधन विधेयक असंवैधानिक भएको आफ्नो धारणालाई पुनःपुष्टि गरेको भन्दै आफू उत्साहित रहेको बताएको छ । 

यसका साथै उसले सबै दलहरु एक कदम पछाडि हटेर परिस्थितिलाई सहज बनाउने प्रस्तावसमेत गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको सम्मान गर्नेसहित ६ बुँदे निर्णय गरेको छ ।
साथै एमालेले संविधान संशोधन फिर्ता लिएर परिस्थितिलाई सहज बनाउन सरकारलाई आग्रहसमेत गरेको छ । अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा विपक्षी मोर्चामा रहेका ९ दल र संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने एमालेले भनेको छ ।
एमाले सचिव योगेश भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले कसरी आफूलाई प्रस्तुत गर्छ, सर्वोच्चको फैसलाको स्पिरिटलाई सरकारले कसरी सदुपयोग गर्छ, त्यस अनुसार हामी अघि बढ्छौं ।
सर्वोच्चको फैसलाले सभामुखलाई पनि एउटा अवसर दिएको भन्दै एमाले सचिव भट्टराईले दलहरुको बीचमा सहमति निर्माण गर्ने एउटा अवसर प्राप्त भएको सन्दर्भमा  सबै एक एक स्टेप पछाडि हटेर सहज परिस्थिति बनाउनुपर्नेमा जोड दिए । संसद बैठक १ बजेका लागि बोलाइएको छ ।

तपाईंको बिचार