Monday, October 23, 2017

सुशीलाले माओवादीका ‘जुनियर’लाई न्यायाधीश बनाउन नमान्दा न्याय परिषद अनिर्णित

प्रकाशित मिति: 2017/01/12

पुष २८, काठमाडौं । न्याय परिषदको बैठकमा कस्ता वकिललाई न्यायाधीश बनाउने भन्ने विषयमा कुरा नमिलेपछि उच्च अदालतका ८२ न्यायाधीशको नियुक्ति अनिश्चितकालसम्मका लागि रोकिने देखिएको छ ।

यसबीचमा प्रत्येक दिन आजै टुंगो लगाउने भन्दै पटकपटक दिनहुँ बैठक बसे पनि कानुन व्यवसायीबाट न्यायाधीश बनाउने नाममा सहमति हुन नसकेको स्रोतले जनाएको छ ।
विशेष गरी न्याय परिषदका पदेन सदस्य कानुनमन्त्री अजयशंकर नायक र माओवादी कोटाबाट न्याय परिषद सदस्य बनेका पदमप्रसाद वैदिकले प्रस्ताव गरेका नाममा सहमति हुन सकेको छैन ।

न्याय परिषद स्रोतका अनुसार नायक र वैदिकले प्रस्ताव गरेका वकिल कनिष्ठ र न्यायाधीशको योग्यता एवं क्षमताभित्र नपर्ने भन्दै प्रधानन्यायाधीश सुशीला कार्की र वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्यायले अस्वीकार गरेका छन् । यसमा बार एशोसियसनबाट परिषद सदस्य बनेका रामप्रसाद सिटौलाको पनि साथ छ ।
परिषद सदस्य एवं बरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेरका कारण शुक्रबारदेखि अवकाश पाउँँदैछन् । त्यसपछि बरिष्ठताका आधारमा स्वतः गोपालप्रसाद पराजुली न्याय परिषद सदस्य हुनेछन् । पराजुलीसँग प्रधानन्यायाधीश कार्कीको कुरा नमिल्ने भएकाले यसबीचमा परिषद बैठक नबस्न सक्छ ।
पराजुलीले आफ्नो उमेरसम्बन्धी विवादमा सुशीला कार्कीविरुद्ध न्याय परिषदमा निवेदन दिएका छन् । स्रोतका अनुसार शुक्रवारभित्रै न्यायाधीशको नाम टुंगो लागेन भने केही महिना न्यायाधीश नियुक्ति नहुन पनि सक्छ ।

तपाईंको बिचार