Monday, October 23, 2017

माघ १५ भित्रै कानुन पारित भए जेठभित्रै निर्वाचन संभव छ : यादब, निर्वाचन आयुक्त

प्रकाशित मिति: 2017/01/17

माघ ४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै ऐन कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।

उनले अब चैतमा चुनाव हुन नसक्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले भने, ‘वैशाख २८ र २९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ ।’
उनका अनुसार निर्वाचन आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको छ । मतदाता नामावली संकलन, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतपरिणाम, मतपेटिका, मसलन्द, मानव संशोधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताए ।

प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने प्रस्ताव समेत अघि सारेका छन् । उनले भने, ‘दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ ।’
राजनीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचन  गर्न आयोग तयार रहेको उनले स्पष्ट पारे ।
डा. यादवले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन ।’
पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि सम्भव रहेको उनले बताए । दुवै निकायको चुनाव एकैचोटि गर्न संभव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाइ थियो ।

तपाईंको बिचार