Monday, August 21, 2017  |    

वाइसीएललाई लुटेर नखाऊ भन्दा प्रधानमन्त्रीले प्रतिकारको कुरा गरे :ओली

प्रकाशित मिति: 2017/02/01

माघ १९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्हालिएर अभिव्यक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।
देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिनु दुर्भाग्य हुने चेतावनी दिए ।
‘देशभक्तहरुविरुद्ध उत्रिन प्रधानमन्त्रीले उक्साएको भन्दै ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले राम्रो होला ।
‘हामीले त वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साउँदै हुनुहुन्छ,’ उनले भने ।

नेकपा एमालेको तराई मधेस केन्द्रित अभियान बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकारले चुनाव नचाहेको बताए । चुनावको सन्दर्भमा कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु म कुटे जस्तो गर्छु, तँ रोय जस्तो गर भन्ने ढंगबाट अघि बढेको भन्दै ओलीले भने, ‘उनीहरुको मिलेमतो छ, तमासा गरिरहेका छन् ।’

चुनावको घोषणा नगर्न मधेसी मोर्चाले सरकारलाई दबाव दिइरहेको र चुनावको मिति घोषणा गरे बाह्य शक्ति लगाइदिने धम्कीसमेत दिइरहेको दाबी ओलीले गरे ।

अहिले सरकार आफै प्रतिपक्ष पनि हुन खोजिरहेको भन्दै ओलीले भने, ‘लेखा समितिको सभापति प्रतिपक्षलाई नदिनु भनेको त्यही संकेत हो ।’
सत्तारुढ दलहरु सरकारमा टिकिरहन जे पनि गर्न तयार रहेको ओलीले दाबी गरे ।

 

तपाईंको बिचार