Saturday, August 19, 2017  |    

नयाँ र निर्माणाधीन घरको महानगरले स्थलगत अनुगमन गर्ने

प्रकाशित मिति: 2017/02/02

माघ २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले घर तथा भवनको नक्सापास र निर्माणका क्रममा हुने अनियमितता रोक्न छुट्टै अनुगमन कार्यदल गठन गरेको छ । भवन निर्माण इजाजत महाशाखा प्रमुख रामबहादुर थापाको संयजकत्वमा सात सदस्यीय अनुगमन कार्यदल गठन भएको हो । यो कार्यदललाई १३ वटा कार्यादेश पाएको यो टोलीले काम पनि थालेको छ ।

यसले अब नक्सापासमा भएको ढिलासुस्तीको अनुगमन गर्नेछ भने भवन निर्माणमा घरधनीले गर्ने लापरवाहीको अनुगमन पनि गर्नेछ । यस्तै नक्सा पास र भवन निर्माण सम्पन्न प्रमाणपत्र दिने प्रक्रियामा कर्मचारीबाटै हुने अनियमितताको निरीक्षण अनुगमन तथा सपुरीबेक्षण पनि कार्यदलले गर्ने भएको छ ।


महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भवन निर्माण इजाजत लिने र निर्माण गर्ने प्रक्रियामा हुने सबै किसिमका अनियमितता रोक्न यस्तो संयन्त्र बनाइएको बताए । अब नक्सापास प्रक्रियालाई थप ब्यवस्थित गर्न यसले मुख्य भूमिका खेल्नेछ ।
यसले नगरभित्र भवन निर्माण इजाजत विभागको स्वीकृति लिई हाल निर्माणाधीन संरचनाको नियमित अनुगमन गरी रेकर्ड राख्ने र बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ जारी भएपछि नक्सा स्वीकृत गरी निर्माण भइसकेका र भइरहेका प्रत्येक भवनको निरीक्षण गरी अभिलेख राख्ने जिम्मेवारी पाएको छ ।
अनुगमनका क्रममा इजाजत मिचेर निर्माण भएको र प्रचलित मापदण्डभन्दा बढी निर्माण भएको पाइएमा ७ दिनभित्र प्राविधिक प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि कानुन महाशाखामा लेखेर पठाइने छ ।

अनाधिकृत तवरले सार्वजनिक जग्गामा निर्माण गरेका कुनै पनि भवन पाइएमा तत्काल नगर प्रहरी महाशाखामा पत्राचार गरी निमार्ण कार्य रोक्न निर्देशन दिइनेछ ।

 

तपाईंको बिचार