Monday, December 11, 2017

स्ववियु चुनावमा जान कांग्रेसले दिएको निर्देशन नेविसंघ काठमाडौंद्वारा अवज्ञा

प्रकाशित मिति: 2017/02/03

माघ २१, काठमाडौं । नेपाली कांग्रेसले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन दिएको निर्देशन नेविसंघ काठमाडौंले अवज्ञा गर्ने घोषणा गरेको छ । त्यसको औपचारिक निर्णय गर्न बिहीबार अपरान्ह चार बजे काठमाडौं उपत्यकाका क्याम्पसका इकाई अध्यक्षहरु र काठमाडौं जिल्ला समितिका पदाधिकारीहरुको संयुक्त बैठक बोलाइएको छ ।
नेपाली कांग्रेसले पार्टी पदाधिकारीको बिहीबारको बैठकमा नेविसंघ पदाधिकारीलाई समेत राखेर २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु चुनावमा होमिन निर्देशन दिएको थियो । नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले भने पार्टीको उक्त निर्देशन आफूहरुले नमान्ने बताए ।

ग्राउण्ड नबुझेका नेताहरुले दिएको निर्देशन मान्न बाध्य नहुने भन्दै उनले भने, फागुन १४ गते स्ववियु चुनाव त गराउलान् तर, १५ गते के परिणाम आउँछ नेताहरुले देख्नेछन् ।

वैद्यले नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरको नेतृत्व क्षमतामा पनि प्रश्न उठाएका छन् । उनले महरलाई अध्यक्ष नभई मूर्तिको संज्ञा दिएका छन् ।
वैद्य पशुपति क्याम्पसका पूर्वस्ववियु सभापति समेत हुन् । उनले २८ वर्षे उमेर हदले वर्षौंदेखि क्याम्पसमा क्रियाशील नेताहरु मर्कामा परेको भन्दै काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरुमा तालाबन्दी गराएका छन् । तर, प्रहरी प्रशासन लगाएर आफूहरुलाई दमन गरिएको भन्दै उनले आपत्ति जनाए ।

 

तपाईंको बिचार