Wednesday, April 26, 2017  |    

संसोधनबारे कांग्रेस सभापति देउवा र मधेसी मोर्चाबिच छलफल

प्रकाशित मिति: 2017/02/05

माघ २३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्दैछन् ।
आइतबार देउवाले मोर्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।
पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
देउवाले आज दिउँसो तीन बजे मोर्चाका नेताहरुलाई बुढानिलकण्ठमा बोलाएका छन् ।
मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभई निर्वाचनमा जान नसक्ने र सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने चेतावनी दिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान लिइरहेको छ भने मधेसी मोर्चाले संविधान संशोधनलाई नै निर्वाचनको बटमलाइन बनाएको छ ।
मोर्चाका नेताहरुसँग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका थिए । सो छलफलमा कांग्रेस सभापति देउवा अनुपस्थित थिए भने देउवाले मोर्चाका नेताहरुसँग गर्न लागेको छलफलमा सरकारको नेतृत्वकर्ता दल माओवादी अनुपस्थित रहने स्रोतले बतायो ।
सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिए पनि मोर्चाको असहमतिका कारण निर्वाचनको मिति तोक्न सकेको छैन ।

 

तपाईंको बिचार