Wednesday, August 23, 2017

रानीपोखरीको माटो खानी तथा भूगर्भ विभागले परीक्षण गर्ने

प्रकाशित मिति: 2017/02/08

माघ २६, काठमाडौं । रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु हुने भएको छ । रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वर्ल्डवाइड कँडेल केएन केजी जेभीका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ । पोखरीमा रहेको माटोले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।

दुई वर्ष लगाएर वि.सं. १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । 

गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भए पनि माटो परीक्षणमा ढिलाइ भएको कामपाले जनाएको छ । पोखरीको वरपर अन्य निर्माण भने भइरहेको छ ।

वि.सं. २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो । चार सय वर्षदेखि सफा नगरिएको उक्त पोखरी निर्माणकै अवसर पारी सफा गर्न लागिएको हो ।

तपाईंको बिचार