Friday, August 18, 2017  |    

महानगरले थाल्यो मोनोरेलको सम्भाब्यता अध्ययन

प्रकाशित मिति: 2017/02/08

माघ २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ ।
वाइबिडी सिमेक्स कम्पनी ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्न भने १ वर्ष लाग्छ ।

यदि प्रतिवेदनले स्काइरेललाई अगाडि बढाउन सकिने देखाएमा त्यसको करिब १ वर्षभित्रै रेल सञ्चालनमा आउन सक्ने वाइबिडी सिमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेले दाबी गरे ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौंमा मेट्रो रेलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्र्तगत सम्भाब्यता अध्ययन गर्न लागिएको बताए ।
‘मेट्रो रेलका लागि लगानी बोर्डले पनि अध्ययन थालेको छ । तर, हाम्रो पूर्वाधार र ग्राउण्ड रियालिटी हेर्दा स्काइरेलको सम्भावना बढी राम्रो देखियो’ तामाङले भने, ‘मेट्रो रेल जमिनभित्र कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत पनि बढी हुन्छ । स्काइ रेल भने हाम्रो शहरको पूर्वाधारसँग म्याच हुने देखियो ।’
तामाङले फिजिबिलटी रिपोर्ट आएपछि कुन मोडलमा, कसरी स्काइ रेल चलाउने भन्ने निर्णय हुने बताए ।

उनले मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि स्काइरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो रहेको सुनाए । साइमेक्सका अध्यक्ष पाण्डेले यो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने बताए ।
निर्माण अवधि पनि मेट्रो रेलको भन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको उनको भनाइ छ । ‘हामी सुरुवातमा सम्भाब्यता अध्ययन गर्छौं । एकवर्षभित्र काठमाडौंभरिको रुटमा यसको अध्ययन भइसक्छ’ पाण्डेले भने, ‘१० किलोमिटरको रुटमा पाइलट प्रोजेक्टमा रुपमा काम गर्न ३ मिहनाभित्रै प्ररम्भिक रिपोर्ट आउनेछ ।’
त्यसपछि सरकारी प्रक्रिया पुरा हुनासाथ त्यसको एकवर्षभित्र नै रेल सञ्चालनमा ल्याउन सकिने छ ।

 

तपाईंको बिचार