Wednesday, September 20, 2017

लोडसेडिङ हटाउन कुलमानका ब्याट्री बैंकदेखि खोला फर्काउने योजना

प्रकाशित मिति: 2017/02/09

माघ २७, काठमाडौं । लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौधौ परेको छ ।
भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गर्दै आम उपभोक्तासँग पनि सहयोग मागिएको छ ।
उत्पादन र मागबीच तालमेल मिलाउन प्राधिकरणलाई हम्मेहम्मे परेको छ । यस वर्ष जसोतसो धानिएला तर, जबसम्म जलायशयुक्त जलविद्युत आयोजना बन्दैनन, हरेक वर्ष सुख्खायाममा यो समस्या आउनेछ ।
चाहेर पनि तत्काल कुनै जलाशययुक्त आयोजना बनाउन पनि सम्भव छैन, कम्तिमा ५,७ वर्ष लाग्छ । त्यसैले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘ब्याट्री पावर बैंक’को विकल्पबारे अध्ययन थालेका छन् ।

‘स्टोरज व्याट्री हाम्रा लागि उपयुक्त हुनसक्छ, ‘१०० र २०० मेगावाट ब्याट्री स्टोरेज गर्न सकियो भने जलाशययुक्त आयोजना नबन्दासम्म राम्रो हुन्छ ।’
विदेशमा पनि ग्रीड लोडको ब्यवस्थापनका लागि यो प्रविधि प्रयोगमा छ । प्रशारण लाइनमा लोड बढी हुँदा ब्याट्री बैंकबाट ग्रीलाई चार्ज गरेर आपूर्तिलाई नियमित र गुणस्तरीय गर्न यो निकै उपयोगी मानिन्छ ।
ब्याट्री पावर बैंक ?
बिजुली उपलब्ध नहुँदा मोबाइल चार्जका लागि प्रयोग गरिने पावर बैंक जस्तै हो ब्याट्री बैंक । तर, यसमा सयौं मेगावाट बिजुली स्टोर गर्न सकिन्छ ।


वर्षायाममा नदीको बहाब उच्च हुँदा बिजुलीको उत्पादन मागभन्दा बढी भएर खेर गइरहेको छ । अब यसरी खेर जाने विद्युतलाई ब्याट्री बैंकमा जम्मा गर्ने र सुख्खायाममा उपयोग गर्न विद्युत प्राधिकरणले अध्ययन थालेको हो ।
एक सयदेखि २०० मेगावाट ब्याट्री स्टोरेज गर्न सकियो भने नेपालका लागि उपयुक्त हुने देखिएको छ । तर, यसको प्राविधिक रुपमा अध्ययन हुन बाँकी नै छ ।

खोला फर्काउने योजना
प्राधिकरणले ब्याट्री बैंक स्थापनासँगै खोला फर्काउने योजनामा पनि काम थालेको छ ।
जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गरेर छाडिएको पानीलाई फेरि फर्काएर बिजुली उत्पादन गर्ने गरी ‘पम्प स्टोरेज’को अवधारणा अघि सारिएको हो ।
अहिले सबै आयोजनामा बिजुली उत्पादन भएपछि पानी सबै बगेर जान दिइन्छ । पम्प स्टोरेज प्रविधि लगाउन सकियो भने पानीलाई फर्काएर फेरि बिजुली उत्पादन गर्न सकिन्छ । विदेशमा प्रचलनमा रहेको यो प्रविधि पनि प्रयोग गर्न गृहकार्य सुरु भएको छ ।

पम्प स्टोरेज भन्नाले जलविद्युत आयोजनाबाट टर्वाइन घुमाएर बगेर गएको पानीलाई पम्पिङ गरेर फेरि फर्काउने प्रविधि हो । जसले बगेको पानीलाई फर्काएर बारम्बार विजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ । जापानमा यो प्रविधि निकै प्रचलित छ । यसबारे पनि प्राधिकरणले अध्ययन गर्न लागेको छ ।
यो प्रविधिमा पानीलाई फर्काउन ठूला क्षमताका पानी तान्ने पम्पहरु प्रयोग गर्नुपर्ने हुन्छ । जसबाट सुख्खायाममा पानीको अभाव हुँदा पनि बिजुलीको उत्पादन बढ्नेछ ।

 

तपाईंको बिचार