Wednesday, November 22, 2017

न्यायाधीश नियुक्तिको विरोधमा दुई सय वकिलद्वारा सामुहिक राजीनामा

प्रकाशित मिति: 2017/02/09

माघ २७, काठमाडौं । न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले नेपाल बार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका छन् । उनीहरुले बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।
नेपाल बार एशोसिएसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुकहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएको न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णले जानकारी दिए ।
हालै न्यायपरिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत नभएको भन्दै नेपाल बारको आह्वानमा देशभरका सरकारी वकिलहरुले समेत आन्दोलन गरेका थिए । तर आन्दोलनकै क्रममा बारले सर्बोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै दुई नम्बर प्रदेशका वकिलहरु असन्तुष्ट थिए ।

न्यायाधीस नियुक्तिको बिरोधमा आन्दोलनमै भएका बेला नेपाल बारले सर्बोच्च अदालतमा गएर रजिष्ट्रारसँग सम्झौता गरेको भन्दै उनीहरुले बारसँगको सम्बन्ध कायम राखिराख्नुपर्छ भन्ने औचित्य समाप्त भएकाले संयुक्त राजीनामा बुझाएको बताए ।
राजीनामा बुझाउनु अघि दुई नम्बर प्रदेशका वकिलहरुले बार परिसरभित्र पनि नाराबाजी गरेका थिए । केहीबेर नाराबाजी गरेपछि माथिल्लो तलामा गएर अध्यक्ष शेरबहादुर केसीलाई सामुहिक राजीनामा बुझाइएको थियो ।

 

तपाईंको बिचार