Wednesday, August 23, 2017

आइजीपी नियुक्तिमा प्रचण्ड र देउवाबीच झगडा, गृहमन्त्रीलाई देउवाको चेतावनी

प्रकाशित मिति: 2017/02/09

माघ २७, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच विवाद चर्किएको छ । यही विवादका कारण बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ ।
यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् ।
प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको व्यवसायिकता एवं चेन अफ कमाण्डलाई बिगार्न नहुने प्रधानमन्त्रीले देउवालाई बताएका छन् । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो ।
देउवाले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेतावनी दिएका छन ।
सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई अप्सन दिएको स्रोतले अनलाइनखबरलाई बतायो । अहिलेसम्म बरियता मिच्दा पनि दोस्रो भन्दा तल गएको इतिहास नरहेको भन्दै प्रधानमन्त्रीले तेस्रो बरियतामा जानै नसकिने बताएका थिए । तर, देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अड्डी कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिएका छन् ।
तेस्रो बरियताका डीआइजी चन्दले आफू पनि सुदुरपश्चिमको भएको र आफूलाई आइजी बनाए कांग्रेसलाई चुनाव जित्न सजिलो हुने देउवालाई आश्वासन दिएका छन् । साथै उनले कांग्रेसका विभिन्न जिल्लासभापति मार्फत् देउवालाई कन्भिन्स गरेको स्रोत बताउँछ ।

बहालवाला एआइजीहरुले पनि उपेन्द्रकान्त अर्यालसँगै फागुन ३ गतेदेखि अवकाश पाउने भएकाले डीआइजीहरुबाट आइजी छनौट गर्न लागिएको हो । देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन् ।

 

तपाईंको बिचार