Monday, December 11, 2017

२५ सय मेगावाट बिजुली बेच्न सक्ने गरी नयाँ प्रशारण लाइन बन्दै

प्रकाशित मिति: 2017/02/10

माघ २८, काठमाडौं । भारतसँग विद्युत व्यापारका लागि अर्को ४ सय केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रशारणलाइन बन्ने भएको छ । अब न्यू बुटवल गोरखपुर अन्तरदेशीय ट्रान्समिशन निर्माणका लागि गृहकार्य सुरु भएको हो ।

यसले २५ सय मेगावाटसम्म बिजुली आयात निर्यात गर्ने क्षमता राख्नेछ र यसबाट नेपाललाई आवश्यक पर्दा त्यति नै विद्युत आयात गर्न सकिने छ । ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनको एउटा सर्किट चार्ज भएसँगै अर्को अन्तरदेशीय प्रशारणलाइन निर्माणको प्रक्रिया अघि बढाउन लागिएको उर्जा मन्त्रालय स्रोतले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत भदौमा भएको भारत भ्रमणका क्रममा नयाँ अन्तरदेशीय प्रसारणलाइन बनाउने सम्झौता भएको थियो । यो प्रसारणलाइन ११५ किलोमिटर लामो हुनेछ ।

बुधबार काठमाडौंमा हुने नेपाल भारत द्वीपक्षीय उर्जासचिव स्तरीय बैठकमा यो आयोजनालाई अघि बढाउने एजेण्डा तय गरिएको छ । अघिल्लो दिन उर्जाका सहसचिव स्तरको बैठक पनि काठमाडौंमै बस्नेछ ।

यो आयोजना सम्पन्न भएपछि नेपालमा उत्पादन हुने बिजुली भारत पठाउन सहज हुनेछ । अहिले नेपालमा एउटा मात्रै अन्तरदेशीय प्रशारणलाइन सञ्चालनमा छ । जुन पूर्ण क्षमतामा सञ्चालनमा आउन बाँकी छ ।
नयाँ अन्तरदेशीय प्रसारणलाइनको नेपाल र भारतले संयुक्त रुपमा यो आयोजनाको प्रारम्भिक प्रतिवेदन तयार गरिसकेका छन् । जसलाई शुक्रबार भारतमा दुबै पक्षले फाइनल गरेका छन् । यो अध्ययन प्रतिवेदन बुधबार सचिवस्तरीय बैठकमा पेश हुँदैछ र यसबारे थप निर्णय हुने बुझिएको छ ।
सरकारले विद्युत् माग बढी भएका क्षेत्रलाई सहज रुपमा बिजुली वितरण गर्न र भविष्यमा नेपालमा उत्पादित उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइनलाई प्राथमिकतामा राखेको छ ।

प्राधिकरणले यो आयोजनाका लागि रोहिणीखोला नजिक अर्को सवस्टेशन बनाउने योजना बनाएको छ । यसबाट बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायतका आयोजनाबाट उत्पादन हुने बिजुली पनि भारत निर्यात गर्न सकिनेछ ।

 

तपाईंको बिचार