Sunday, December 17, 2017

​आज स्थानीय तह प्रतिवेदन अध्ययन समितिले सुझाव पेश गर्ने

प्रकाशित मिति: 2017/02/16

फागुन ५, काठमाडौं । ​स्थानीय तह प्रतिवेदन अध्ययन समितिले प्रतिवेदनका सम्बन्धमा देखिएका गुनासा अध्ययन गरी सरकारलाई आज सुझाव दिने भएको छ। समितिका संयोजक एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेले मुख्यगरी २ नं प्रदेशका सांसदले दिएका सुझाव र अन्य जिल्लामा देखिएका गुनासा हल हुने गरी सरकारलाई सुझाव दिइने बताए। 

समितिले तीन दिन लगाएर २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसद्सँग परामर्श गरेको थियो । समितिले आइतबार सप्तरी, सोमबार सिरहा, धनुषा र महोत्तरी तथा मङ्गलबार सर्लाही, पर्सा, बारा र रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद्सँग परामर्श गरेको हो । त्यस्तै समितिले संघीय लोकतान्त्रिक मधेसी मोर्चाका नेता, आयोगका अध्यक्षलगायतसँग पनि परामर्श गरेको थियो। 

समितिले छलफलका क्रममा प्रत्येक जिल्लाका सांसदमध्येबाट एक/एक जनालाई स्थानीय तहको पुनःसंरचनाका बारेमा जिल्लामा क्रियाशील विभिन्न दल र सांसदसँग छलफल गरी विकल्पसहितको सुझाव दिन संयोजकको जिम्मेवारी दिएको थियो। बुधवारसम्म चार वटा जिल्लाका संयोजकले समितिलाई विकल्पसहितको सुझाव दिएका छन्। सप्तरी, सिरहा, सर्लाही र बारा जिल्लाका संयोजकबाट सुझाव आएका छन्।

गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव दिन संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको संयोजकत्वमा उद्योगमन्त्री र आपूर्तिमन्त्री सदस्य रहेको एक समिति गठन गरेको थियो। समितिलाई प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको छ। समितिलाई दिइएको १५ दिनको समय आज सकिँदैछ। –रासस

तपाईंको बिचार