Sunday, December 17, 2017

सरकारले सोमबार स्थानीय चुनावको मिति घोषणा गर्ने

प्रकाशित मिति: 2017/02/19

फागुन ८, काठमाडौं । सरकारले सोमबार स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ ।

आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । सोमबार नै चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
चुनावको मिति टुंगो लगाउन प्रधानमन्त्रीले निर्वाचन आयोगसँग परामर्श गर्दै छन् । आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ । तर, यसलाई अगाडि सार्ने तयारी छ ।

सत्तारुढ कांग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ ।
मधेसी मोर्चासँग छुट्टै छलफल

बालुवाटार बैठकमा चुनावको मिति घोषणा अघि मधेसी मोर्चासँग छलफल गर्ने सहमति भएको छ ।

स्थानीय तहबारे मधेसी मोर्चाले जनाएको असन्तुष्टि सम्बोधन गर्ने तयारी स्वरुप छलफल राखिएको हो । स्रोतका अनुसार स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकार गर्ने र यसमा केही संख्या थप गरेर अघि बढ्ने तयारी छ ।

 

तपाईंको बिचार