Friday, October 20, 2017

नेपाल अब छिट्टै समृद्ध हुने : जेट्ली

प्रकाशित मिति: 2017/03/03

फागुन २०, काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले वैदेशिक लगानीकै जगमा आर्थिक समृद्धि हासिल हुने बताएका छन्। नेपाल पनि अब छिट्टै समृद्ध हुने उनको विश्वास छ। 

नेपाल लगानी सम्मेलनमा भाग लिन काठमाडौं आएका जेट्लीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विश्वका शक्तिशाली राष्ट्रहरु वैदेशिक लगानीकै जगमा समृद्ध भएको दृष्टान्त पेस गरे। उनले भारत र चीनको आर्थिक विकासमा पनि वैदेशिक लगानीकै हात रहेको स्पष्ट पारे। अर्थमन्त्री जेट्लीले भारत नेपालको आर्थिक विकासमा सघाउन तयार रहेकोसमेत बताए। पूर्वाधार विकास र जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न भारत सरकार आतुर रहेको उनको भनाइ छ। 

साथै उनले नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धी समस्या पनि केहीदिन भित्रै हल हुने जानकारी दिए। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। यसअघि उनले सम्मेलनको दोस्रो सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपालको विकासमा अब लगानीको अभाव नहुने बताएका थिए।

तपाईंको बिचार