Friday, October 20, 2017

चुनाव सार्न मिल्दैन, सप्तरी घटनाबारे सरकारले छानबिन गर्नुपर्छ :एमाले

प्रकाशित मिति: 2017/03/08

फागुन २५, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सप्तरी घटनाबारे छानबिन गर्न माग गरेको छ ।

विपक्षी दलको मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले बुधबार कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् ।
बालुवाटारमा बुधबार भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।
एमालेभन्दा केही अघि मात्र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधन गर्न र चुनाव स्थगित गर्न माग गर्दै सात दिने अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्रीले मधेसी मोर्चाले सातदिने अल्टिमेटम दिएर गएको एमाले नेताहरुलाई जानकारी दिए । साथै उनले सबै दलले छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

‘एमाले नेताहरुले चुनाव यताउता गर्न पाइँदैन भनेका छन, भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले पनि चुनाव हुन्छ भन्नु भएको छ ।’
यसैबिच प्रधानमन्त्री दाहालले एमालेलाई मेची महाकाली महाभियानबारे पुनर्विचार गर्न सुझाव दिएका छन् । एमालेले गर्छौं भन्यो भने सरकारले सुरक्षा दिने भन्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर दुईचार दिन रोक्न उपयुक्त हुने बताए ।
फागुन २१ गतेदेखि झापाबाट एमालेले मेची महाकाली अभियान सुरु गरेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित भएको एमालेको मेची महाकाली अभियान बिहीबारबाट हेटौंडादेखि पुनः सुरु हुँदैछ ।

तपाईंको बिचार