Friday, June 23, 2017  |    

स्थानीय तह निर्वाचनमा देशभर साढे ३ लाख बढी उम्मेदवार रहने पूर्व अनुमान

प्रकाशित मिति: 2017/03/17

चैत ४, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा देशभर साढे ३ लाख बढी उम्मेदवार रहने पूर्व अनुमान गरेको छ ।

यो चुनावले नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष र चार वडा सदस्य गरी झण्डै ३५ हजार जनप्रतिनिधि चयन गर्नेछ ।
उम्मेदवारी दर्ताका लागि बैशाख १६ गते विहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिसकेको छ । मतदान बैशाख ३१ गते बिहान सात बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
चुनावको तयारीमा रहेको आयोगले करिब ३ लाख ६६ हजार ३ सय ९० जना उम्मेदवार अनुमान गरेको छ । यो अनुमानित संख्या स्वतन्त्र उम्मेदवार बाहेकको हो ।
निर्वाचन आयोगले यही आधारमा निर्वाचन व्यवस्थापनको तयारी गरिरहेको छ । तर स्वतन्त्र उम्मेदवारको संख्या भने अनुमान गर्न नसकिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले एक पदमा ७ देखि १० जनाबीच मात्र प्रतिस्पर्धा हुने अनुमान गरेको छ । यही आधारमा दलको तर्फबाट मात्र देशभर करिब साँढे तीन लाख उम्मेदवारवीच प्रतिस्पर्धा हुने अनुमान गरेको हो ।
आगामी स्थानीय चुनावमा १ सय १३ दललाई निर्वाचनमा भाग लिन सक्नेछन् । सबैभन्दा धेरै काठमाडौंमा ४५ र कम मनाङमा ७ दलले भाग लिन पाउँछन् ।
तर, अधिकाशं स्थानीय तहमा उम्मेदवारी दिने दलको संख्या १० कटेमा देशभरको कुल उम्मेदवारको संख्या थप बृद्धि हुँदै जाने पनि आयोगले जनाएको छ ।
स्वतन्त्र उम्मेदवारको समेत संख्या जोड्दा उम्मेदवारको संख्या ४ लाख कट्न सक्ने निर्वाचन आयोगले आंकलन गरेको छ । एउटा स्थानीय तहमा गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखका लागि निर्वाचन हुनेछ ।
यस्तै हरेक वडामा एक जना वडाध्यक्ष र अन्य चार सदस्यका लागि निर्वाचन हुनेछ । सोही पदका लागि यति धेरै संख्यामा उम्मेदवारको अनुमान गरिएको हो ।

तपाईंको बिचार