Wednesday, September 20, 2017

कर्मचारीको लगानीमा कर्णाली जलविद्युत् आयोजना बनाइने

प्रकाशित मिति: 2017/03/17

चैत ४, काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको लगानीमा कर्णाली ७ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यसमा प्रारम्भिक सहमति जुटेको छ भने थप गृहकार्य गर्ने जिम्मा ऊर्जा सचिवलाई दिइएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘आम कर्मचारीको पैसा लगानी गरेर कर्णाली ७ मा छिट्टै सुरु गर्दैछौं ।’
कर्णाली ७ को अध्ययन भारतीय कम्पनी ल्यान्को इन्फोरटकले अधुरो अवस्थामा छाडेको थियो । अब यसलाई विद्युत विकास विभाग आफैंले अध्ययन गर्दैछ ।
करिव २०० मेगावाटको यो आयोजनालाई माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट निस्कने पानीको वहावलाई रेगुलेटिङ गर्ने आयोजनाका रुपमा लिइएको छ ।

लामो समयदेखि कर्मचारीको लगानीमा पनि आयोजना बनाउने चर्चा छ । तर, नीतिगत रुपमा निर्णय नहुँदा यो विषय अन्यौलमा थियो ।

अहिले भने ऊर्जामन्त्री जनार्दन शर्माले यसका लागि प्रक्रिया नै थालनी गरेका छन् । सुरूमा कर्णाली ७ सञ्चय कोषका बचतकर्ताको लगानीमा निर्माण गर्नेबारे छलफल भएको थियो ।
तर कर्मचारी सञ्चय कोषलाई अरु नै आयोजना दिएर कर्मचारीको लगानीमा यसलाई अगाडि बढाउने गृहकार्य गरिएको छ ।

तपाईंको बिचार