Friday, July 28, 2017  |    

सहायक सीडीओका भरमा मधेस, विमानस्थलको अध्यागमनमा उपसचिवहरूको भीड

प्रकाशित मिति: 2017/03/20

चैत्र ७, काठमाडौं । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा संवेदनशील भनिएकामध्ये मधेसका धेरै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) कामविहीन छन् । कैयन् जिल्ला निमित्त सीडीओका भरमा चलेका छन् भने अधिकांशमा सहायक सीडीओ रिक्त छन् । 
तर, तालुकदार गृहमन्त्रालय भने आवश्यक नै नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा उप–सचिवहरूको काज सरुवा गरिरहेको छ । ६ जनाको दरबन्दी रहेको विमानस्थल अध्यागमनमा अहिले आठ उपसचिव कार्यरत छन् । 
तीमध्ये तीन जना काजमा खटिएका हुन् । यस्तो काज सरुवा त्यो बेला गरिएको हो, जतिबेला संवेदनशील मधेसका जिल्लामा सीडीओ र सहायक सीडीओविहीन छन् ।
सीडीओ र सहायक सीडीओ नहुँदा जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्यमा मात्र होइन स्थानीय तहको चुनावको तयारीमा समेत प्रत्यक्ष असर पर्ने गृहकै एक अधिकारी बताउँछन् ।
तर, गृहमन्त्रालयको नेतृत्व भने मधेसका जिल्लामा सीडीओ र सहायक सीडीओ पठाउन गम्भीर नभएको जानकारी ती अधिकारीले दिए ।
फागुन १९ यता रौतहट सीडीओ र सहायक सीडीओविहीन थियो । शुक्रबारमात्रै निमित्त सीडीओको हैसियतमा उपसचिव अर्जुन भण्डारी काजमा खटिएका छन् ।
त्यस्तै महोत्तरी र सर्लाहीमा पनि लामो समयदेखि सहायक सीडीओ नै छैनन् । करिब एक महिनायता सर्लाहीमा सहायक सीडीओ छैनन् । 
सहायक सीडीओको जिम्मेवारी पाएका उपसचिव विनोद खडका सीडीओको हैसियतमा ताप्लेजुङ सरुवा भएपछि उक्त पद रिक्त छ । फागुन २३ मा सप्तरीमा भएको गोलीकाण्डपछि सीडीओ फिर्ता गरिएपछि अहिले निमित्त सीडीओले जिल्ला हाँकिरहेका छन् । 
त्यस्तै करिब दुई महिनायता सिरहा निमित्त सीडीओको भरमा चलिरहेको छ । सीडीओ विनोद मानन्धर सरुवा भएर गएयता सिरहामा दुई निमित्त सीडीओ फेरिइसके । 
मानन्धरको सरुवालगत्तै श्रीकृष्ण श्रेष्ठले निमित्त सीडीओको जिम्मेवारी सम्हालेका थिए । उनी पनि बिदामा बसेपछि अहिले उपसचिव सोमप्रसाद भट्टराई उक्त जिम्मेवारीमा छन् । 
प्रशासनका जानकारहरूका अनुसार यसरी बारम्बार जिम्मेवारी परिवर्तन हुँदा र निमित्तका भरमा जिल्ला चलाउँदा कयौं प्रशासनिक निर्णय समयमै हुन सक्दैनन् । 
गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठले भने, ‘विमानस्थलमा कामका चाप वा आवश्यक भएर मात्रै खटिनुभएको हो । सीडीओसहित अन्यत्र खाली ठाउँमा पठाउने तयारी भइरहेको छ ।’ 
१८ फागुनमा पीएसओ लिएर अमेरिका भ्रमणमा उड्नुअघि नै गृहसचिव लोकदर्शन रेग्मीले दोलखाबाट सीडीओ भएर फर्केका पुष्पराज शाही र डोल्पाबाट सीडीओ भएर फर्केका चेतराज बराललाई विमानस्थलको अध्यागमनमा काजमा पठाएका हुन् । 
मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यालयमा राख्न भनेर शाही र बराललाई केन्द्र तानिएको थियो । अध्यागमनमा लामो समय बिताएका एक उपल्ला कर्मचारी अध्यागमनमा ६ उपसचिवकै निम्ति पर्याप्त जिम्मेवारी नरहेको बताउँछन् । 
उनले भने, ‘कैयन् जिल्लामा सहायक सीडीओको अभाव रहेका बेला विमानस्थलमा आवश्यकभन्दा धेरै उपसचिव खटिनु राम्रो कुरा होइन ।’ जिम्मेवारी प्रस्ट नभएका उपसचिवहरूको लर्को देखेर अध्यागमनकै कर्मचारीहरू चिया गफमा ‘विमानस्थलमा सीडीओहरूको भीड भनेर खिसी गर्छन् । 
गृहमन्त्रालयले केही वर्षअघि विमानस्थल अध्यागमनलाई तीन सिफ्ट चल्ने गरी संरचना बनाएको थियो । जसका निम्ति ६ उपसचिवको परिकल्पना गरिएको थियो । 
तर, अध्यागमन अहिले पनि दुई सिफ्टमै चलिरहेको छ । अध्यागमनकै कर्मचारीहरू दुई सिफ्टका लागि चार उपसचिव नै पर्याप्त हुने बताउँछन् । 
गृहको कर्मचारी प्रशासन महाशाखाका प्रमुख श्रेष्ठले भने, ‘काजमा सरुवा हुनु सामान्य कुरा हो । केही ठाउँमा मिलाउनै बाँकी छ ।’ 
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलाल उडानको बढोत्तरी र यात्रुको बढदो संख्यासँगै बढी निगरानी आवश्यक परेकाले उपसचिवको संख्या बढेको बताउँछन् । 
उनले कर्मचारी थप्नेबारे गृह मन्त्रालयसँग बारम्बार कुरा भइरहेको र यही बेला उपसचिवको संख्या बढाइएको बताए ।

तपाईंको बिचार