Wednesday, August 16, 2017  |    

‘वान बेल्ट वान रोड’मा नेपालको प्रतिवद्धता

प्रकाशित मिति: 2017/03/24

चीन । चीनले २०७२ वैशाखद १२ को भूकम्पबाट क्षतिग्रस्त भइ बन्द रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्ने आश्वासन दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनको बोआओमा भएको भेटका क्रममा त्यहाँ उपप्रधानमन्त्री झाङ गाओलीले तातोपानी नाका खोल्ने आश्वासन दिएका हुन् । 

शुक्रवार भएको भेटमा प्रधानमन्त्री नेपालका प्रचण्डले नेपाल र चीनबीच लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालले एक चीन नीतिप्रति सधै समर्थन गर्दै आएको उल्लेख गरे । 

नेपाली भुमिवाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन दिँदैनौँ । यो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने विश्वास राखेको छुु, प्रधानमन्त्री प्रचण्डले भने, राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपाल साझेदारी गर्न तयार छ ।

प्रधानमन्त्रीले भुकम्पपछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै चीनको विकास र आर्थिक उन्नतिवाट नेपालले पनि फाइदा लिन सक्ने बताए । प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत् संस्थागत गरिएको बताउँदै अहिले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको बताए ।

प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माण, इनर्जी कनेक्टीभिटी, टान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनसहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको बताएका छन् । नेपाल र चीनबीच सम्बन्धको ऐतिहासिक मार्ग अरनिको मार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न पनि चिनियाँ उपप्रधानमन्त्रीलाई आग्रह गरे । भेटका क्रममा पूर्व–पश्चिममा चीनसँग जोडिएका सबै नाकाहरु खोल्न पनि आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरे । भेटमा चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कुटनैतिक सम्बन्ध स्थापना भएको ६२ वर्षदेखि नेपाल र चीनबीच धेरै नजिबाट सहकार्य हुँदै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सम्बन्धलाई अझै नयाँ उचाईमा पुर्‍याउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

उनले प्रधानमन्त्री प्रचण्डको केही समय पहिले भारतको गोवामा भएको चिनिया राष्ट्रपतिसँगको भेट एवम् चीन भ्रमणका क्रममा हुने भेट धेरै महत्वका रहेको बताए । चीनले सधै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको उनको भनाई थियो । 

उनले चीनका राष्ट्रपतिले उपर्युक्त समयमा चीनको भ्रमण गर्ने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अघि सारेको रेलवे, ट्रेड, कनेक्टिीभिटी र पूर्वाधार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको बताउँदै यी विषयमा छिट्टै सहमति गरेर सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

उनले तातोपानी नाका हुँदै काठमाडौँसम्म आउने अरनिको राजमार्ग खोल्नेबारे सकारात्मक रहेको बताउँदै नेपाललाई विभिन्नस्तरमा सहयोग बढाउँदै लगिने पनि जानकारी दिएका छन् ।

नेपालले संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै उनले नेपालका राजनीतिक दलहरु एकतावद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गरे । 

तपाईंको बिचार