Friday, December 15, 2017

बक्यौता नतिर्ने मन्त्रालयमा पानी बन्द गर्न खानेपानी मन्त्रीको निर्देशन

प्रकाशित मिति: 2017/03/30

चैत १७, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले खानेपानीको बक्यौता नतिर्ने मन्त्रालय तथा सरकारी कार्यालयहरुमा पानीको आपूर्ति बन्द गर्न निर्देशन दिएका छन् ।

विभिन्न मन्त्रालय र सरकारी निकायहरुले लामो समयदेखि खानेपानीको महशुल नतिरेको पाइएपछि मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री शाहीले खानेपानीको बक्यौता तिर्न सुरुमा लिखित रुपमा सबै निकायलाई आग्रह गर्ने र त्यसो गर्दा पनि अटेर गरेमा पानीको आपूर्ति बन्द गर्न समेत पछि नपर्ने चेतावनी दिए । शाहीले खानेपानीको बक्यौता रहेका सबै निकायलाई तत्काल पत्र काट्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिएका छन् ।

उनले खानेपानी नियमित आपूर्ति भइरहे पनि सेवा शुल्क नतिरेर केयुकेएललाई धराशायी पार्न खोजिएको टिप्पणी समेत गरे ।
केयुकेएलले उठाउनुपर्ने बक्यौता एक अर्ब ४३ करोड रुपैयाँ पुगेको र त्यो मध्ये सरकारी निकायबाट मात्रै ४२ करोड ३१ लाख १९ हजार उठाउन बाँकी रहेको समेत बताए । 
यसैबीच, मन्त्री शाहीले मेलम्ची खानेपानी लगायतका  निकायका आयोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर कुनै पनि कारणले आयोजना निर्माणमा ढिलाइ गर्न नहुनेमा सचेत गराएका छन् । उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गर्न पनि निर्देशन दिएका छन् ।

तपाईंको बिचार