Thursday, June 29, 2017  |    

तामाकोशी आउनुअघि नै २४६ मेगावाट विजुली प्रसारणलाइनमा थपिने

प्रकाशित मिति: 2017/03/31

चैत १८, काठमाडौं । आगामी आर्थिक वर्षसम्म राष्ट्रिय प्रसारणमा २४६ मेगावाट विजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न आयोजना सम्पन्न भएर यो आर्थिक वर्षमा १०५ मेगावाट विजुली प्रसारणलाइनमा कनेक्ट भइसकेको छ ।

यसैवर्ष थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिने अवस्था रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
असारसम्म थप ४५ मेगावाट विजुली प्रसारणलाइनमा जोडिएपछि यो आर्थिक वर्षमा मात्रै १५० मेगावाट विजुली नेशनल ग्रीडमा जोडिने उनले बताए । आगामी आर्थिक वर्ष २०७४,७५ मा २०१ मेगावाट विजुली निजी क्षेत्रले राष्ट्रिय प्रशारणलाइनमा जोड्नेछन् ।

यसरी आगामी आर्थिक वर्षभित्र प्राधिकरणले थप २४६ मेगावाट विजुली प्रशारणलाइनमा प्राप्त गर्ने सुनिश्चित जस्तै छ ।
अर्को वर्ष प्राधिकरणले आफ्नो चमेलिया र कुलेखानी गरेर ४५ मेगावाट विजुली थप्नेछ । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया अर्को वर्ष सम्पन्न हुनेमा आशंका छैन ।
१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा आएका समस्याहरु समाधान गर्न प्राधिकरणको नेतृत्व लागेको छ । यसैका कारण यी दुई आयोजना आगामी वर्ष सम्पन्न भएर प्रसारणलाइनमा जोडिने अवस्था छ ।
निजी लगानी बनिरहेका सानाठूला आयोजनाले पनि अहिले गति लिएका छन् । निर्माणाधीन आयोजनाहरुलाई ट्रान्समिसनमा जोड्न प्राधिकरणले पनि प्रभावकारी ढंगले पहल गरेपछि कामको गति बढेको छ ।

तामाकोशीको प्रतिक्षा

अहिले बुहप्रतिक्षित मानिएको ४५६ मेगावाट क्षमताको तामाकोसी पनि निर्माणधीन छ । यो २०७५ सालको मंसिरसम्म यसको पहिलो युनिट सञ्चालनमा आइसक्ने गरी काम भइरहेको छ । २०७६ को असारसम्म तामाकोसीका सबै युनिटले विजुली उत्पादन थाल्नेछ । त्यतिबेलासम्म राष्ट्रिय प्रसारणमा ७०१ मेगावाट बिजुली थप हुनेछ ।
तामाकोसी आयोजना सम्पन्न भएपछि नेपालले ऊर्जामा बेहोरिरहेको संकटलाई पूर्ण रुपमा निवारण गर्न सक्नेछ । आगामी २ वर्ष उर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण अवधि सावित हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

अहिले झण्डै ५४ सय मेगावाटका आयोजना लगानी जुटाएर निर्माणमा गएका छन् । सयभन्दा बढी यी आयोजनाले निर्माणमा ढिलाइ गरेका छैनन् । त्यसैकारण यी आयोजना निर्धारित समयमा सम्पन्न हुने अवस्थामा देखिएका छन् ।

झण्डै साढे ६ सय आयोजनाले विद्युत खरिद सम्झौता गरेर पनि लगानी जुटाउन कसरत गरिरहेका छन् । यो वर्ष महत्वपूर्ण ५ आयोजनाको काम सकिएर प्रसारणलाइनमा जोडिएका थिए ।

तपाईंको बिचार