Wednesday, October 18, 2017

मतदाता नामावली टुंग्याउने डेडलाइन सकियो, मधेशमा निर्वाचन प्रभावित हुने आशंका

प्रकाशित मिति: 2017/04/02

चैत २०, काठमाडौं । सरकार मधेसी मोर्चाबिच राजनीतिक सहमति हुन नसक्दा  निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

दुई नम्बर प्रदेशमा मधेसी मोर्चाबाट अवरोध भइरहेको र यसको समाधानका लागि राजनीतिक सहमति जुट्न नसक्दा निर्वाचन कार्यतालिकामा असर देखिएको हो ।
वैशाख ३१ हुने हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आज चैत २० गतेसम्म मतदाता नामावली टुंग्याउने कार्यतालिका थियो ।
तर, मतदाता नामावली टुंगो लगाउन २ नम्बर प्रदेशको अवरोधका कारण समस्या परेपछि मतदाता परिचयपत्र छाप्ने कार्य पनि अन्यौलमा परेको छ ।
स्थानीय तहका साथै जिल्ला निर्वाचन कार्यालयमा मधेसी मोर्चाको अवरोध तथा तालाबन्दीका कारण दुई नम्बर प्रदेश अन्र्तगतका ८ जिल्लाको मतदान केन्द्रहरु अहिलेसम्म तोक्न सकिएको छैन । जसका कारण त्यस क्षेत्रको मतदाता नामावली समेत टुंग्याउन समस्या भएको निर्वाचन आयोगले जनाएको छ । हरेक मतदाताको मतदान केन्द्र तोक्ने र त्यसलाई परिचय पत्रमै राख्नु पर्नेछ । तर, आयोगले दुई नम्बर प्रदेशमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसक्दा त्यहाँको नामावली समेत टुंग्याउन नसकेको हो ।
यससँगै मतदाता परिचय पत्र छपाइको काममा समेत अन्यौल आएको छ ।

अबको प्रक्रिया कस्तो ?

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले दुई नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न र नामावली टुंग्याउन नसकेको बताए । त्यहाँको सन्दर्भमा सरकारबाट राजनीतिक असमझदारी चाँडै हल हुने खबर आएकाले केही दिनमै त्यहाँ बाँकी रहेका कामहरु गर्ने उनले बताए ।


मतदाता परिचय पत्र छपाइका लागि निर्वाचन आयोग परिसरमै छपाइ मेशिन जडान गरी तयारी अवस्थामा राखिएको छ । तर, अहिलेसम्म मतदाता नामावली नै नटुंगिएकाले आयोगको कार्यतालिका नै प्रभावित बन्नसक्छ । 
तर, आयोगकै अर्का एक आयुक्तले भने बैशाख ३१ गतेको निर्वाचन गराउन आयोगसँगै सरकारबाट पनि पर्याप्त प्रयास नदेखिएको टिप्पणी गरे । 

तपाईंको बिचार