Wednesday, October 18, 2017

नेपाल–भारतको प्रबुद्ध बैठकमा १९५० को सन्धिमा परिवर्तन हुँदै

प्रकाशित मिति: 2017/04/06

चैत २४, काठमाडौं । काठमाडौंमा सुरु भएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठकले  सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि असमान व्यवस्था हटाउन सहमत भएको छ ।

बैठकमा इपीजी नेपालका सदस्य नीलाम्बर आचार्यले सन् १९५० को सन्धिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख सन्धिका धारा ५, ६ र ७ लाई पुनरावलोकन गर्न आवश्यक भएको बताएका थिए । यसैगरी इपीजीका भारततर्फका सदस्यले  १९५० को सन्धिमा केही परिवर्तन गर्न तयार रहेको बताएको स्रोतले जनाएको  छ । उनले उक्त्त बिषयमा थप छलफल आवश्यक रहेको बताएका छन् ।

नेपालमा  तत्कालीन राणा प्रधानमन्त्री मोहनसम्शेरले भारतसँग उक्त शान्ति तथा मैत्री सन्धि गरेका थिए । सन्धिमा तत्कालीन नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले हस्ताक्षर गरेका थिए। सन्धिका प्रायः सबै धारामा नेपालका राजनीतिक दलले असन्तुष्टि जनाउँदै आएका छन् र नेपाल पक्षले  नारायणसिंहको हस्ताक्षर पनि असमान भएको ठहर गरेको थियो ।

बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल भएको छ । साथै बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल भएको  छ । बैठकमा नेपालका संयोजक पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेतृत्व गरेका छन्  ।

गत असारमा काठमाडौंमा सम्पन्न इपिजीको पहिलो बैठकमै सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलाई छलफलका लागि प्रवेश गराइएको थियो। नेपाल–भारतबीचका सम्पूर्ण सन्धि सम्झौता र प्रावधानको पुनरवलोकन गर्ने निर्णय पहिलो बैठकले गरेको थियो। त्यसैको आधारमा भारतमा कात्तिक तेस्रो साता सम्पन्न इपिजीको दोस्रो बैठकमा नेपालले उक्त सन्धिलाई विशेष महत्वका साथ उठाएको थियो।

तपाईंको बिचार