Monday, December 11, 2017

कांग्रेस सांसद बहादुरसिंह लामा भन्छन, ‘जीवनको अनुभुति र यथार्थको अभिलेख साहित्य’

प्रकाशित मिति: 2017/04/09

चैत्र २७, नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् माननीय सांसद बहादुरसिंह लामाले समाज परिवर्तनका लागि साहित्यको अतुलनीय भूमिका रहेको कुरा बताउनुभएको छ ।

नुवाकोट साहित्यिक प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कवि अप्सरा तिम्सिनाको एकल कविता वाचन कार्यक्रममा बताउनु भएको हो । जीवनको अनुभुति र यथार्थसँग  जोडिएर आउने कल्पनाको अभिलेख नै साहित्य  हो भन्दै सांसद लामाले साहित्य चिन्तन र कलाको समष्टिगत अभिब्यक्ति रहेको समेत बताए ।
साहित्य जीवन र समाजका लागि हुने हुँदा साहित्यकारहरु गम्भिरतापूर्वक लाग्नु पर्ने उहाँको भनाई छ । उहाँले विश्व जगतमा साहित्यको मोह ब्यापक रहेको बताउँदै नेपाली भाषा साहित्यको विकासका लागि राज्यले यथोचित बजेट बिनियोजित गर्न कन्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्यमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै हेटौंडा निवासी स्रष्टा अप्सरा तिम्सिनालाई नारी स्रस्टा सम्मान २०७३ बाट सम्मान समेत गरिएको थियो ।सम्मानित कवि तिम्सिनाले  अस्वस्थ अभिभावक , सन्तान, भान्से, अभिलाषा , अमरप्रेम, म त भान्से, जिजिबिसा, जेब्राक्रस, छरिएका अस्थिपन्जरहरु र आमाको शिशु कक्षामा गरी  १० थान कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार मुना अर्यालले साहित्यलाई बन्दनले छेकिदैन भन्दै नेपाली साहित्यमा नेपाली नारी स्रस्टा जुनकीरी झैं फैलनु पर्छ भन्नु भयो ।

अर्का विशेष अतिथि  शम्भुप्रसाद शर्माले कठोर चिजलाई साहित्यले पगाल्ने कुरा बताउँदै सभ्य र अनुसासित नागरिक साहित्यले जन्माउने बताउनु भयो । नुवाकोट सहित्य प्रतिष्ठानका सभापति श्रीराम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा केसबलाल श्रेष्ठ , हरि घिमिरे, मुकुन्द अधिकारी, शिव अधिकारी ,कपिलप्रसाद फुँयाल, सुमित्रा सुमी, बिष्णुप्रसाद सापकोटा, शिवकुमारी डङ्गोल,  रामकृष्ण गजुरेल, राजेन्द्र सिलवाल, बासु सापकोटा , बिन्दा अर्याल, गीता पुडासैनी, लवबहादुर डङ्गोल लगायतका ब्यक्तिहरुले आआफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन भगवती घलेले गर्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक कल्याण केन्द्र नुवाकोटले भैरवी सेवा नुवाकोट सीप विकास प्रशिक्षण केन्द्र तथा कोसेली घरलाई एक थान कम्प्युटर र पुष्कर सुनार, बिनिता बोगटी र विशाल खड्कालाई जनही नगद रु १५००का दरले छात्रवृत्ति समेत बितरण गरिएको थियो ।

तपाईंको बिचार