Wednesday, August 16, 2017  |    

राष्ट्रपति भण्डारीलाई मुखर्जी र मोदीद्धारा एकसाथ सम्मान

प्रकाशित मिति: 2017/04/18

बैशाख ५, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।

भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।
राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए । राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ । बुधबार र विहीबार उनी दिल्ली बाहिर रहनेछिन् ।
त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् । अपरान्ह पौने४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् ।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन गर्नेछिन् ।
मंगलबार बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीवीच भेटवार्ता हुनेछ भने साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीवीच साँझ साढे ७ बजे भेटवार्ता हुनेछ । लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गर्नेछन, जहाँ दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ ।

मंगलबार दिल्लीको औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारी बुधबार उडिसामा र विहीबार गुजरातमा बस्नेछिन् । उनले त्यहाँ सोमनाथ मन्दिर, द्वारिकाधीश मन्दिर आदिमा तीर्थाटन गर्ने्छिन् ।
त्यस्तै उडीसामा विहीबार राष्ट्रपतिले लिंगराजा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यहाँ उनले महिला सुदृढीकरण परियोजनाको अवलोकन गर्नेछिन् ।
राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै नेपाल र्फकने कार्यक्रम रहेको भ्रमण दलमा सहभागीले जानकारी दिएका छन् ।

मुखर्जीलाई पशुपतिनाथको चन्दन उपहार

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कोसेलीका रुपमा पशुपतिनाथको चन्दन उपहार लगिदिएकी छिन् ।
पशुपति विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले दिएको जानकारी अनुसार भारतीय राष्ट्रपतिका लागि भण्डारीले मुहारमा लगाउने श्रीयन्त्र चन्दन उपहार लगेकी छिन् ।

 

तपाईंको बिचार