Monday, December 11, 2017

निर्वाचनको पूर्वसन्ध्यामा भेटिए ५ सयका नक्कली नोट

प्रकाशित मिति: 2017/04/19

वैशाख ६, पोखरा । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा ५ सय रुपैयाँका नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेका छन् । राष्ट्र बैंकका अनुसार चैत पहिलो सातादेखि नक्कली नोट भेटिन थालेको हो ।

यहाँस्थित राष्ट्र बैंकसम्म यस्ता नोट पुगेपछि बजारमा ठूलो परिमाणमा रहेको आशंका बैंक तथा वित्तीय संस्थाको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू दैनिकजसो एक–दुईवटा आउने गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । एउटै नम्बर भएकाले नक्कली हो भन्ने पहिचान गर्न सजिलो भए पनि कहाँबाट कसरी आयो भन्ने यकिन नभएको राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीले बताए । ‘बैंकहरूले शंकास्पद भनेर त्यस्ता नोट हामीलाई बुझाउन ल्याएका छन्,’ उनले भने, ‘यस विषयमा मुद्रा व्यवस्थापन विभागमा जानकारी गराएका छौं ।’ बैंकिङ च्यानलमा आएका नोट मात्रै पत्ता लागेको उनले बताए । ६७९७४६ र ७९९७४६ नम्बर भएका ४८ नोटहरू राष्ट्र बैंकमा आइसकेका छन् । त्यसमा अगाडि ६७ नम्बर भएका नोट बढी छन् । यहाँ रहेका वाणिज्य तथा विकास बैंकका शाखामा आएका नोटहरू शंकास्पद लागेपछि राष्ट्र बैंकलाई बुझाइएको हो । सक्कलीजस्तै देखिने नोट उच्चस्तरको फोटोकपी गरेर बजारमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ । खस्रो कागज, प्रिन्ट हल्का फुलेको र लालीगुँरासको छाप नभएको आधारमा नक्कली भनेर छुट्याउन सकिने कामु निर्देशक अधिकारीले बताए । 

प्रहरी प्रशासनलगायत राज्यका निकायको ध्यान निर्वाचनमा केन्द्रित भएकाले नक्कली नोट बजारमा आएको हो । विगतका निर्वाचनताका पनि यस्तै समस्या देखिएको बैंकर्सहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा फाट्टफुट्ट आए पनि बजारमा उल्लेख्य मात्रामा हुन सक्ने अनुमान गरिएको छ ।

व्यक्ति तथा संस्थागत रूपमा बैंकमा जम्मा गर्न आउनेबाट यस्ता नोट भेटिएका हुन् । सहकारीहरूमा पनि नक्कली नोटको कारोबार भइरहेको हुन सक्ने अनुमान गरिएको छ । निरक्षर तथा सानोतिनो व्यापार व्यवसाय गरेर दैनिक बचत गर्ने तथा नोट चिन्न नसक्ने समूहलाई गिरोहले प्रयोग गरेको हुन सक्ने स्रोतले जनायो । अर्कोतर्फ सहकारीमा नोट चिन्न सक्ने दक्ष कामदारको पनि अभाव हुने भएकाले कारोबार बढी हुन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले बजारमा नक्कली नोट आएको भए सहकारीमा पनि आउन सक्ने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताए । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नोटमा शंका लागेमा खबर गर्न र मेसिनले नभई हातले नोट गन्न भनेको छ । –कान्तिपुर दैनिक

तपाईंको बिचार