Saturday, December 16, 2017

चितवनमा गोहीले चपाउँदा पनि बाँचे यि बालक !

प्रकाशित मिति: 2017/04/19

बैशाख ६, चितवन । गोहीको मुखमा पुगीसकेको व्यक्ति फुत्किन प्रायः असम्भव हुने गर्दछ । किनभने ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्रा्ष्ट्रिय टेलिभिजनबाट देख्छौँ । 

तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपाईंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।
गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझैँ चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे ।


अपराह्न करिब ४ बज्दै थियो । एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झेँ उनले । ‘म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ्याप्पै हात समायो,’ सम्झँदै अर्जुन भन्छन, ‘देब्रे हातमा समाएर तीनचोटि पछार्यो । त्यसलगत्तै पानीमुनि लग्यो ।
सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । ‘यो हात त सबै पड्यापुडुक भाछ,’ गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने ।
यति गर्दा पनि बालकको होस भने गएको थिएन । गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोसिस उनको व्यर्थ थियो । ‘मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो,’ अस्पताल श्यैयाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए । गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए । साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन, ‘म बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो ।’

‘एउटा हात त गोहीले छाडेकै थिएन । टाउको समाउने प्रयास गर्दै थियो,’ गोहीसँगको सङ्घर्ष सम्झँदै उनी भन्छन, ‘टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्काे हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।’

भुँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन, ‘ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने ।’ अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् ।

पैसा तिर्न सकेनन् परिवारले

उनी सामान्य सुकुम्वासी परिवारका हुन् र सम्पत्तिका नाममा एक कट्ठा जमिन छ । त्यही पनि ऐलानी । घरको एउटा मात्रै छोरो, तीन छोरी र आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन् । कलेजको अर्थाेपेडिक वार्डको २९६ नम्बर श्यैयामा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिब रु दुई लाख पैसा लागेको छ । नौ दिन आइसियुमा राखिएको थियो । एकदिन पोस्टअपमा राखेर चार दिनअघि अर्थाेमा सारिएको हो ।
औषधिको ऋण खोजेर नगद नै तिरे । अस्पतालको पैसा करिब रु डेढ लाख तिर्न बाँकी छ । अस्पतालको बिलको बिटो देखाउँदै आमा फूलमायाँ भन्छिन, ‘यो पैसा कसरी तिर्नु ?’

बुबा रामबहादुर मजदुरको काम गर्छन् । फूलमायाँ मेलापात । ‘म घरमै थिएँ, गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन । भोलिपल्ट होस आयो र हस्पिटलको आइसियुमा छोरो छ भेट्न जाउँ भनेपछि अनि आको,’ फुलमायाँले भनिन् ।

पैसा तिर्न चन्दा सङ्कलन

चितवनका एक सामाजिक अभियन्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्बिर हालेपछि घटनाबाहिर आएको हो । उनीलगायत गाउँलेले अहिले उनको उपचारका लागि चन्दा सङ्कलन सुरु गरेका छन् । सक्ने सहयोग गरिदिए उनको अस्पतालको ऋण घट्ने थियो भन्छन् सिवाकोटी । पैसा नभएर परिवार पनि रन्थनिरहेको छ । ‘हिजो नै पैसा जम्मा गर भनेको थियो,’ अर्जुनकी दिदी सरिताले भनिन, ‘दश हजार जम्मा गर्यौं अरू गर्न सकिएन । गरिबले कहाँबाट ल्याउनु पैसा । गरिब परिवारलाई कसैले सहयोग गरिदिए हुन्थ्यो,’ उनी अनुनय गर्दै भन्छिन् ।

अस्पताल ल्याउँदा नरुने कोही थिएन

त्यो दिन सहयोगीका रुपमा आकस्मिक कक्षमा थिइन् अस्पतालकी कर्मचारी मञ्जु भट्ट । ‘अर्जुनलाई ल्याउँदा अस्पतालमा नरुने कोही थिएन,’ मञ्जुले भनिन, ‘घाउहरु हेरिसाध्य थिएन ।’

भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिन्थ्यो भनेर चिकित्सकले भनेको कुरा उनी सम्झिन्छिन् । ‘हड्डी नै टुक्रा भाथ्यो रे,’ मञ्जु सुनाउँछिन् । साह्रै पीडामा देखिएका बालक अहिले निको हुँदै गर्दा आफूलाई पनि खुसी लागेको मञ्जुले बताइन् ।

तपाईंको बिचार