Friday, May 26, 2017  |    

कता हराए डिआईजी सिलवाल

प्रकाशित मिति: 2017/05/01

बैशाख १८, काठमाडौं । कार्यसम्पादन मूल्यांकन फाइल (कामसु) किर्ते गरेको अभियोग लागेका डिआइजी नवराज सिलवाल उपचाररत अस्पतालबाटै वेपत्ता भएका छन् । आइजीपी नियुक्ति प्रकरणमा सिलवालले कामसु किर्ते गरेको भनि छानबिन भइरहेको सन्दर्भमा प्रेसरको बिरामी भएको भन्दै एक सातायता ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत सिलवाल आइतबार साँझदेखि एकाएक वेपत्ता भएका हुन् ।

प्रहरी स्रोतका अनुसार सिलवाल निवासमा छैनन् भने रातभर बालकुमारीस्थित निवासमा प्रहरी परिचालन गरिएको छ । तर, सोमबार बिहानसम्म सिलवाल घरमा नपुगेको प्रहरी स्रोतले बतायो ।

सिलवाल आइतबार साँझ अस्पतालबाट वेपत्ता भएको खबरसँगै प्रहरी हेडक्र्वाटरले महानगरीय प्रहरी परिसर ललितपुरलाई उनको निगरानी गर्न निर्देशन दिएको थियो । सो लगत्तै महानगरीय प्रहरी परिसर बृत्त सातदोबाटोका डिएसपी रामेश्वर यादवको नेतृत्वमा उनको खोजी सुरु भएको थियो । अस्पतालका अनुसार अस्पतालको ३०७ नम्बरको बेडमा रहेका सिलवाल एकाएक बाथरुम जान लागेको भन्दै अस्पतालबाट बाहिरिएका थिए । उनी अस्पतालबाट नाटकीय ढंगले बाहिरिएसँगै पछि सिलवालकी श्रीमती सिर्जना सिलवाल र भाई महसेनानी सुदर्शन सिलवाल डिस्चार्ज पेपर लिन अस्पताल पुगेका थिए ।

अस्पताल स्रोतका अनुसार डिस्चार्ज लिन पुगेका भाई सुर्दशन र श्रीमती सिर्जनाले अस्पताललाई तिर्न बाँकी ६० हजार तिरेका छन् । सिलवाल प्रेसरको बिरामी भएको भन्दै चैत ११ देखि अस्पतालको भीआईपी क्याबिनमा बस्दै आएका थिए । यसबारे बुझ्दा महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी यादवले सिलवाल अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन् । सिलवालले बोक्ने मोबाइलसमेत अफ गरिएको छ । 

तपाईंको बिचार