Friday, August 18, 2017  |    

प्रधानन्यायाधीश कार्कीले अब सर्वोच्चको मुद्दा नहेर्ने

प्रकाशित मिति: 2017/05/08

काठमाडौं । अदालतले महाअभियोग बिरूद्ध अन्तरिम आदेश जारी गरेपछि सर्वोच्च फर्केकी प्रधानन्यायाधीश सुशीला कार्कीले अबदेखि अवकाश नपाएसम्म कुनै पनि मुद्दा आफूले नहेर्ने बताएकी छिन्। 

सर्वोच्च अदालत स्रोतका अनुसार, अवकासको महिना दिन अघिबाट इजलासमा बसेर मुद्दा नहेर्ने परम्परा अनुसारनै प्रधानन्यायाधीश कार्कीले आफ्ना लागि इजलास नतोक्ने भएकी हुन्।

प्रधानन्यायाधीश कार्कीले अन्य न्यायाधीशहरूका लागि इजलास र पेशी भने नियमित रूपमा तोक्ने छिन्। साथै अन्य प्रशासनिक काम पनि गर्ने छिन्।

जेठ २५ गतेबाट उमेरहदका कारण कार्कीले अनिवार्य अवकास पाउँदै छिन्। अवकासको एक महिना अघिदेखि बिदामा बस्ने वा आफ्ना लागि इजलास नतोक्ने परम्परा पनि सर्वोच्च अदालतमा छ। यसअघि रामप्रसाद श्रेष्ठ अवकासको एक महिना अघिदेखि बिदामा बसेका थिए। आफूपछिको प्रधानन्यायाधीश सिफारिस गरेपछि विदा बस्ने परम्परा हो। तर सबै न्यायाधीशले यो परम्पराको पालना गरेका छैनन्। पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, रामकुमार शाह र कल्याण श्रेष्ठले अवकाशको अघिल्लो दिनसम्म आफ्ना लागि इजलास तोकेका थिए।

शर्मा र शाहले अवकाशको पूर्वसन्ध्यामा गरेका फैसलाहरू निकै विवादमा तानिएका थिए।

तपाईंको बिचार